१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लमजुङका दुई गाउँ वर्षौंदेखि पहिरोको जोखिममा




लमजुङ
(बेँसीशहर) । विज्ञको अध्ययनले नेपालकै मेगा (ठूला) पहिरो भनिएको भोजे र चिप्लाको पहिरोले लमजुङका दुई गाउँका बासिन्दा त्रासमा बस्न बाध्य भएका छन् । पश्चिम लमजुङको भोजे र उत्तरको चिप्लामा बग्ने पहिरोले दुवै गाउँका बासिन्दालाई त्रसित बनाएको हो ।

प्रत्येक वर्ष बर्खाको समयमा निरन्तर बगिरहने यी दुई पहिरोबाट भोजे र चिप्लाका गाउँले त्रासमा दिनरात कटाउँदै आएका छन् । वर्षाैं देखिको पहिरोले खेतीयोग्य जमिन बगाइसकेको छ । पहिरोले बाटोसमेत बगाएको छ । ओहोर दोहोर गर्दा प्रत्येक पटक नयाँ बाटो बनाएर हिँड्नुपर्ने बाध्यता छ ।

भोजेको पहिरोबाट छ घर अघिल्लो वर्षनै विस्थापित भइसकेका छन् । स्थानीय वडा सचिव लिलाकुमारी तिवारीका अनुसार ३० घर विस्थापित अवस्थामा रहेका छन् । पहिरो जोखिमका कारण सबै गाउँलेले रातमा राम्रोसंग सुत्न पनि नपाएको वडा सचिव तिवारीले बताउछिन् ।

यस्तै, चिप्लाको पहिरोबाट आठ घर विस्थापित भइसकेका छन् । पहिरोका कारण तल्लो चिप्लाका १७ र माथिल्लो चिप्लाका २२ घर जोखिममा रहेको विस्थापित बेलबहादुर गुरुङले बताए । गुरुङका अनुसार दुई ठाउँबाट पहिरोले च्याप्न थालेपछि स्थानीय विस्थापित भएका हुन् ।

यसअघि पहिरो निरीक्षणमा गएको सरकारी विज्ञटोलीले गाउँ नै स्थानान्तरण गर्नुपर्ने सुझाव दिएको थियो । तर अहिलेसम्म गाउँ स्थानान्तरण हुन सकेको छैन ।

पहिरो खसिरहने, पहिरोले बेँसी झर्ने बाटो बगाउने, घरका आँगन, पिँढी, कोठाका भुइँहरु भासिने, ठूलो पहिरोको वरिपरि स–साना अन्य पहिरो जाने, पहिरो आसपासको क्षेत्रका चट्टान मक्किएको, चर्किएको र त्यसमाथि गेग्रानको तह बढी रहेकोले गाउँ निकै जोखिमपूर्ण रहेको विज्ञको भनाइ छ ।

पहिरो नियन्त्रणका लागि अहिलेसम्म जिविस, जलउत्पन्न प्रकोप केन्द्र, भूसंरक्षणलगायतले लाखौँ रुपैयाँ खर्च गरिसकेका छन् । मेगा पहिरो भएकाले सानो रकमले नियन्त्रण गर्न नसकिएको स्थानीय विकास अधिकारी डिल्लीराम सिग्देलले बताए ।

दुई वर्षअघि भौतिक तथा शहरी विकास मन्त्रालयका इन्जिनियर मणिकुमार राई नेतृत्वको विज्ञ टोलीले पनि भोजे पहिरोको अध्ययन गरेको थियो । अध्ययनले भोजेको पहिरो नेपालकै ठूलो पहिरोमा पर्ने निष्कर्ष निकालेको थियो । रासस

प्रकाशित मिति : ४ श्रावण २०७४, बुधबार ००:००