७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सिन्धुपाल्चाेकका जनप्रतिनिधी भन्छन्ः तलब भत्ता नपाए पनि काम गर्न तयार छाैं



प्रकाश सिलवाल, सिन्धुपाल्चाेक ।

“जनयुद्धकालमा पनि स्वयंसेवक भई पार्टी र देशका लागि काम गरिएको हो । अहिले जननिर्वाचित भएर सुविधा पाइएन भने पनि कुनै गुनासो छैन,” यो भनाईचौतारा–साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिंह तामाङको हो । तलब/सुविधाबारे नेपाल सरकारले स्पष्ट निर्णय नगरेको अवस्थामा आफूहरू सुविधा नलिई काम गर्न तयार रहेको तामाङ दाबी गर्छन् ।

नयाँ संविधानानुसार स्थानीय तहको निर्वाचनपछि कार्यभार सम्हालेको जनप्रतिनिधिको तलब/सुविधा हाल केन्द्र सरकारको बजेटबाट निकासा नभएका सन्दर्भमा प्रमुख तामाङको खासै दुखेसो छैन ।

गत वैशाख ३१ मा भएको पहिलो चरणको निर्वाचनबाट निर्वाचित जिल्लाका जनप्रतिनिधिले कार्यभार सम्हालेको डेढ महिना पुगे हालसम्म तलब लिएका छैनन् ।  सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले हालै जारी गरेको ‘स्थानीय तह बजेट तर्जुमा, कार्यान्वयन, आर्थिक व्यवस्थापन निर्देशिका, २०७४’ मा आफ्नै स्रोतबाट तलब, सुविधा लिन सकिने भनिएको छ ।

निर्देशिकामा भनिएको छ, “स्थानीय तहका पदाधिकारीको सुविधा प्रदेश सभाले बनाएको कानुनअनुसार हुनेछ । यस्तो कानुन नबनेसम्म सम्बन्धित स्थानीय तहको सभाबाट निर्धारण भएबमोजिम सुविधा मात्र प्रदान गर्न सकिनेछ । यस्तो सुविधा स्थानीय तहबाट असुल भएको राजस्व रकमबाट मात्र खर्च व्यहोनुपर्नेछ ।”

निर्देशिकामा कार्यरत कर्मचारीको तलब, भत्ता, अन्य सुविधा तथा दैनिक भत्ता तथा भ्रमण खर्च नेपाल सरकारको प्रचलित मापदण्ड तथा नियम कानुनभन्दा बढी हुने गरी निर्धारण गर्न नसकिने उल्लेख छ । स्थानीय तहका जनप्रतिनिधिले आफ्नै स्रोतबाट वा प्रदेश सभाबाट कानुन बनाएर सेवा सुविधा लिन सक्ने राय अर्थ मन्त्रालयबाट आएपछि जनप्रतिनिधिहरू तत्काल आफ्नो स्रोतबाट तलब र सुविधा लिन अनुच्छुक देखिएका हुन् ।

यद्यपि जनप्रतिनिधिको तलब स्केल भने निर्धारण गरिएको छ । आफ्नै स्रोतबाट तलब लिने भन्ने केन्द्र सरकारको आशयप्रति जनप्रतिनिधि उत्साहित देखिएका छैनन् । मेलम्ची नगरपालिकाकाका प्रमुख डम्बर अर्यालले आफ्नो स्रोतबाट तलब लिनुपर्ने भएमा आफू र कुनै पनि वडाध्यक्षले सुविधा नलिने स्पष्ट गर्नुभयो ।

एमालेबाट विजयी अर्यालले रासससँग भने, “बिहान बेलुका घरमा खाना खाइन्छ, खाजा कार्यालयमा खाइन्छ, राजनीतिक काम विगतमा पनि निःशुल्क गरिएको हो । सरकारले रकम नदिने हो भने हामी तलब नलिन तयार छौँ ।” जिल्लाकै इन्द्रवाती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले अहिलेसम्म ‘एक पैसा’ पनि सुविधा नलिएको बताए । कांग्रेसबाट विजयी उनले स्थानीय स्रोतबाट लिन सक्ने अवस्था नरहेको र सम्भावित स्रोतको पनि स्पष्ट पहिचान नभएकाले विनातलब काम गर्ने बताए । रासस

प्रकाशित मिति : २६ असार २०७४, सोमबार ००:००