८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दुई मतदान केन्द्र अपाङ्ग र महिलाका भरमा



बैतडी । अपाङ्ग र महिलाले मात्र चलाएका दुई मतदान केन्द्रलाई विषेश मतदान केन्द्रका रुपमा राखिएको छ । दशरथचन्द नगरपालिकामा अपाङ्मैत्री र पाटनमा महिलाले मात्रै सञ्चालन गरेको मतदान केन्द्र स्थापना गरिएको जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुयाँलले जानकारी दिए ।

दशरथचन्द नगरपालिका– १ को गुरुखोला ‘ख’ केन्द्रमा मतदान अधिकृत जीतबहादुर रोकायासहित ६ जना अपाङ्गता भएका कर्मचारी मात्रै खटाइएको छ । सबैजना शारीरिक अपाङ्गता भएका कर्मचारीलाई समेटेर एउटा छुट्टै मतदान केन्द्र स्थापना गरिएको फुयाँलले बताए ।

त्यस्तै पाटन नगरपालिका– ६ स्थित पन्त्यौडा माविमा रहेको मतदान केन्द्रमा महिला कर्मचारी मात्रै खटाइएको छ । महिला तथा बालबालिका कार्यालय प्रमुख अनिता बुढाऐर मतदान अधिकृत रहेको उक्त मतदान केन्द्रमा सहायक मतदान अधिकृत सडक डिभिजन कार्यालयकी कम्प्युटर अपरेटर निर्मला खनाल रहेकी छन् । पाँच सय ५६ मतदाता रहेको सो मतदान केन्द्रमा पाँचजना महिला कर्मचारीले मात्रै निर्वाचन प्रक्रिया सम्पन्न गर्ने भएका छन ।

बुधबार हुने स्थानीय तह दोस्रो चरणको निर्वाचनका लागि जिल्लामा तयारी पूरा भइसकेको जिल्ला निर्वाचन अधिकारी फुयाँलले जानकारी दिए । सुरक्षाकर्मी र कर्मचारीसहित तीन हजारभन्दा बढी जनशक्ति निर्वाचनका लागि परिचालन गरिएको छ ।

पहिलो घेरामा नेपाल प्रहरी र म्यादी, दोस्रोमा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेना खटिने प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले जानकारी दिए । स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै सोमबार बिहान ७ बजेदेखि बिहीबार बिहान ७ बजेसम्मका लागि भारतसंग जोडिएको झुलाघाट सीमा नाका समेत बन्द गरिएको छ । चार नगरपालिका र ६ गाउँपालिका रहेको जिल्लामा एक लाख २५ हजार २८३ मतदाता रहेका छन् भने ४४० पदका लागि एक हजार ६८० उम्मेदवार चुनावी मैदानमा उत्रेका छन् । रासस

प्रकाशित मिति : १३ असार २०७४, मंगलबार ००:००