१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

६ नं. प्रदेशकाे सुर्खेत घोषणापत्र जारी, प्रमुख र उप्रमुखको भेला सम्पन्न



सुर्खेत । एक्काइस बुँदे सुर्खेत घोषणापत्र जारी गर्दै प्रदेश नं ६ का जनप्रतिनिधिको अभिमुखीकरण कार्यक्रम विहिवार सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न भएको छ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयद्वारा आयोजित “स्थानीय तह सञ्चालन तथा व्यवस्थापनसम्बन्धी अभिमुखीकरण” कार्यक्रमको समापनको अवसरमा घोषणापत्र जारी भएको हो ।

घोषणापत्रमा स्थानीय समुदायको आर्थिक, सामाजिक, सांस्कृतिक विकास गर्न स्थानीय तहभित्रकै प्राकृतिक स्रोत साधनको अधिकतम परिचालन र उपयोग गरी आर्थिक समृद्धि हासिल गर्ने उल्लेख छ । घोषणपत्रमा पर्यटन प्रवद्र्धनका लागि काँक्रेविहार, रारा, से–फोक्सुन्डो, पचाल झरना, रलिङ्ग्रम्चा, मानसरोवरलगायतका ठाँउँको विकास गर्ने उल्लेख छ । साथै सिञ्ज सभ्यताको प्रचारप्रसार गर्ने पनि उल्लेख छ ।

त्यस क्षेत्रको सांस्कृतिक, धार्मिक, प्राकृतिक र ऐतिहासिक स्थलहरूको विकास, विस्तार र संरक्षणका लागि गुरुयोजना तयार गर्ने घोषणापत्रमा उल्लेख छ । प्रदेशस्तरीय सडक गुरुयोजना बनाएर जिल्ला, नगर र गाउँपालिकालाई केन्द्रको सडक सञ्जालमा जोड्ने पनि उल्लेख छ । यसैगरि प्रदेश नं ६ मा भएका सम्भावित क्षेत्रमा हाइड्रोपावर सञ्चालन गर्ने तथा वायु ऊर्जाको सम्भाव्यता अध्ययन गरी परियोजना निर्माण गर्ने पनि उल्लेख छ ।

यस्तै, सिँचाइ सुविधा नपुगेका क्षेत्रमा सिँचाइको व्यवस्था गर्ने, ‘एक जिल्ला एक पहिचान, एक गाउँ एक उत्पादन’लाई विशेष प्राथमिकता दिइनेछ । स्थानीय उद्यमशीलता तथा रोजगारीको प्रवद्र्धन गर्ने, आयआर्जनमा वृद्धि गरी जीवनस्तरमा सुधार ल्याउने पनि उल्लेख छ ।

सिञ्जाको मूल मार्ग बर्दिया राजापुरको मङ्गलबारेदेखि मुगु नाम्चे लाग्नासम्मको मार्गलाई अन्तर्राष्ट्रिय व्यापारिक नाका बनाउनेजस्ता बिषयहरू साझा प्रतिबद्धता घोषणापत्रमा उल्लेख छ । कार्यक्रममा प्रदेश नं ६ का ७९ वटा स्थानीय तहका प्रमुख र उपप्रमुखहरू सहभागी थिए । रासस

प्रकाशित मिति : ९ असार २०७४, शुक्रबार ००:००