७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खोटाङमा चुनावी सरगर्मी बढ्यो



खोटाङ । दोस्रो चरणको स्थानीय तह चुनाव नजिकिँदै गर्दा खोटाङमा चुनावी चहलपहल तीव्र बनेको छ । जिल्लामा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, सङ्घीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टीले जिल्लामा चुनावीसभा तथा प्रचारप्रसारलाई तीव्रता दिएका छन् ।

जिल्लामा प्रायः सबै दलले सबै स्थानीय तहमा उम्मेदवार टुङ्गो लगाएपछि आ–आफ्ना पार्टीका प्रतिबद्घता लिएर उम्मेदवार, नेता तथा कार्यकर्ता चुनावी सभादेखि घरदैलो अभियानमा जुटिरहेका छन् । १२ दल दर्ता भएको यस जिल्लामा कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, संयुक्त चिन्हबाट चुनावी प्रतिस्पर्धा गर्ने सङ्घीय समाजवादी तथा नयाँ शक्ति, नेकपा माले र खम्बुवान राष्ट्रिय मोर्चा चुनावमा उत्रिएका छन् ।

दश स्थानीय तहमध्ये एक नगरपालिकासहित पाँच ठाउँमा महिलालाई प्रमुख उम्मेदवार बनाएको माओवादी केन्द्रले भने घोषणापत्रसमेत सार्वजनिक गरिसकेको छ । कांग्रेस, एमाले, सङ्घीय समाजवादी र नयाँ शक्तिले तयारी पूरा भइसकेको जनाए पनि सार्वजनिक गरेको छैन । यसपटक पनि अघिल्लो चुनावहरुमा एमाले, कांग्रेस र माओवादीबीच कडा प्रतिस्पर्धा हुने विश्लेषकहरुको अनुमान छ ।

यस जिल्लामा दुई नगरपालिका र आठ गाउँपालिका रहेका छन् । जिल्लास्थित क्रियाशील यी दल आफ्नो पक्षमा जनमत जुटाउन घरघरमा चुनाव चिन्ह तथा झन्डा राख्दै गाउँटोलमा खटिरहेका छन् । मुख्य दलहरुले सम्बन्धित पालिका तथा वडामा कार्यालय स्थापना गरी प्रचारप्रसारलाई तीव्रता दिएका छन् ।

मध्य वर्षा अर्थात् धान रोपाइँ गर्ने समयमा चुनावको मिति तोकिएकामा किसान असन्तुष्ट बने पनि जिल्लावासी मतदान गर्न आतुर छन् । चार सय १५ जना जनप्रतिनिधि निर्वाचित हुने यस जिल्लामा मतदाता शिक्षालाई अन्तिम चरणमा पुर्याइएको जिल्ला निर्वाचन अधिकारी दिनेश खत्रीले बताए ।

यहाँ एक सय ३६ मतदान स्थलमा १७३ मतदान केन्द्र कायम गरिएको छ र एक लाख १५ हजार ६४४ मतदाता रहेका छन् । निर्वाचनका लागि सुरक्षा ब्यवस्था मजबुत बनाइएको प्रमुख जिल्ला अधिकारी प्रल्हाद पोखरेलले बताए । रासस

प्रकाशित मिति : २७ जेष्ठ २०७४, शनिबार ००:००