१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निर्वाचनका लागि वातावरण बनाउन प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन



काठमाडौँ, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहिलो चरणको स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न नेपाल प्रहरीले खेलेको भूमिकाको प्रशंसा गर्दै दोस्रो चरण तथा प्रदेश र सङ्घका निर्वाचनमा समेत यस्तै भूमिका खेल्न निर्देशन दिएका छन् ।

प्रहरी निरीक्षक आधारभूत तालिम १६५औँ समूहको दीक्षान्त समारोहलाई शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्रीले दीक्षित हुन लाग्नुभएका अधिकृतहरुले पनि स्थानीय तहको दोस्रो चरणको निर्वाचन सम्पन्न गराउने चुनौतीपूर्ण अवसर प्राप्त गरेको बताए ।

उन्नाइस महिनाको निरन्तर तथा अथक प्रयास, दृढ समर्पण, लगन र मिहेनतपश्चात् प्रहरी निरीक्षक तालिम सफलतापूर्वक सम्पन्न गरेकामा दीक्षित भएकाहरुलाई प्रधानमन्त्रीले बधाई दिँदै कार्य क्षेत्र र व्यक्तिगत जीवनमा सदैव सफलताको शुभकामना दिए ।

समग्र राज्यको सुरक्षा र सञ्चालनमा आन्तरिक सुरक्षाको महत्वपूर्ण र गहन जिम्मेवारी सरकारले नेपाल प्रहरीलाई दिएको बताउँदै प्रधानमन्त्री प्रचण्डले प्रहरी कानुनको आँखा पनि हो, जसले सबै ठाउँमा निगरानी राख्ने बताए ।

प्रहरीले समाजमा शान्ति सुव्यवस्था कायम राख्न आवश्यक पर्ने ज्ञान, सीप र दक्षता अभिवृद्धिका लागि हालका दिनमा प्रहरी निरीक्षक आधारभूत तालिमलाई आधुनिकीकरण तथा अन्तर्राष्ट्रिय रुपमा समेत शैक्षिक पहिचान दिलाउने उद्देश्यले त्रिभुवन विश्वविद्यालयसँगको सम्बन्धनमा पिजी डिप्लोमा कार्यक्रम सञ्चालन गरेको जानकारी पाउँदा आफूलाई खुसी लागेको प्रधानमन्त्रीले बताए ।

समय र प्रविधिको विकास सँगसँगै अपराधको क्षेत्रमा समेत नयाँ नयाँ चुनौती र जटिलता थपिएकाले त्यस्ता किसिमका चुनौतीलाई व्यावसायिक र प्रभावकारी रुपमा सामना गर्न परिष्कृत ज्ञान, सीप साथै दायित्वबोध र निरन्तर लगावको खाँचो पर्नेमा उहाँले जोड दिए ।

कार्यक्रममा उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले जनमैत्री प्रहरी सेवालाई थप प्रभावकारी बनाउन आग्रह गरे । प्रहरीले दिने जनसेवा नागरिकले बिना भेदभाव सरल र सहज रुपमा पाउने वातावरण बनाउन दीक्षित भएका प्रहरी अधिकृतहरुलाई निर्देशन दिए ।

प्रहरी महानिरीक्षक प्रकाश अर्यालले प्रशिक्षणको दिन सकिएको र अब परीक्षाको दिन सुरु भएकाले त्यसमा इमान्दारितापूर्वक व्यावसायिक कार्यमा लाग्न अधिकृतहरुलाई आग्रह गरे । रासस

प्रकाशित मिति : १९ जेष्ठ २०७४, शुक्रबार ००:००