१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मेघाङ र तादीमा गाउँ कार्यपालिका गठन



नुवाकोट, मेघाङ र तादी गाउँपालिकामा कार्यपालिका सदस्यहरु निर्विरोध निर्वाचित भएका छन् । ६ वटा वडा रहेको मेघाङमा एलिना तामाङ, बिजुली सुनार, पार्वती भुजेल र शारदा विश्वकर्मा मंगलबार निर्विरोध निर्वाचित भएका छन् ।

उनीहरु नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार भएका हुन् । दलिततर्फ राममाँया सुनार र अल्पसङ्ख्यकतर्फ लालबहादुर घले निर्विरोध भएका छन् । महिला, दलित र अल्पङ्ख्यकको सहभागितासँगै मेघाङमा गाउँकार्यपालिका र गाउँसभाले पूर्णता पाएको छ । कार्यपालिकामा १४ र गाउँसभामा ३४ सदस्य पुगेको निर्वाचन अधिकृत कमलराज ढकालले जानकारी दिए ।

यस्तै, तादी गाउँपालिकाको सदस्यमा कांग्रेसबाट बिमला विश्वकर्मा, अलैँची थापा, सम्झना तामाङ र माओवादी केन्द्र बाट यशोदा कट्टेल निर्विरोध निर्वाचित भएका छन् ।

दलिततर्फ दीपक परियार र अल्पसङ्ख्यकतर्फ साबित्रा बराम चयन भएका छन् । निर्वाचन अधिकृत चन्द्रकान्त खनालका अनुसार तादी गाउँपालिकाको कार्यपालिकामा १४ र गाउँसभामा ३४ सदस्य निर्वाचित भएसँगै पूर्णता पाएको छ ।

जिल्लाको बाँकी स्थानीय तहमा पनि कार्यपालिका सदस्य चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ ।

कार्यपालिका गठनका लागि गाउँपालिकामा यसअघि नै निर्वाचित चार सदस्य महिला चयन हुने र मतदाता भित्रबाट एक एकजना दलित र अल्पसङ्ख्यकको सहभागिता हुने प्रावधान रहेको छ । नगरपालिकामा यसअघि निर्वाचितमध्ये पाँच महिला र दलित तथा अल्पसङ्ख्यक गरी तीनजनाको प्रतिनिधित्व हुने कानुनी व्यवस्था छ । रासस

प्रकाशित मिति : १७ जेष्ठ २०७४, बुधबार ००:००