१ बैशाख २०८१, शनिबार | Sat Apr 13 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धनगढी उपमहानगरमा उम्मेदवार छनोटमा विवाद



धनगढी, धनगढी उपमहानगरपालिकाका विभिन्न वडाध्यक्षका उम्मेदवार छनोटको विषयलाई लिएर नेपाली कांग्रेस कैलालीमा विवाद चुलिएको छ ।

धनगढी उपमहानगरका वडाध्यक्षका उम्मेदवारको नाम पार्टीले सार्वजनिक गरेपछि वडाध्यक्षका अन्य आकांक्षी असन्तुष्ट बनेका छन् । पुराना र योगदान दिएका कार्यकर्तालाई पाखा लगाएर उम्मेदवार छनोटको जिम्मा पाएका पार्टीका नेताहरुले आफ्ना आसेपासेलाई टिकट दिएको भन्दै असन्तुष्ट कार्यकर्ताले पार्टीको जिल्ला कार्यालयमा ताला लगाएका छन् ।

कांग्रेस कैलालीका सभापति नरनारायण शाह र कांग्रेसका नेता एवं सांसद पुष्करनाथ ओझाबीचको सहमतिका आधारमा धनगढी उपमहानगरका विभिन्न वडामा वडाध्यक्षका उम्मेदवारको छनोट गरेको बताइएको छ । छनोटपछि अन्य आकांक्षी असन्तुष्ट बनेका हुन् ।

उपमहानगरको प्रमुख र उपप्रमुखमा कसलाई टिकट दिने भन्ने निर्णय अहिलेसम्म हुनसकेको छैन । प्रमुखका लागि कृष्णबहादुर महरा र नृप ओड आकांक्षी रहेका छन् ।

कांग्रेसका जिल्ला सचिव दीपकराज जोशीले पार्टीमा टिकट वितरणलाई लिएर सामान्य विवाद देखिएको स्वीकार्दै विवाद विस्तारै मत्थर हुँदै जाने दाबी गरे । कांग्रेसले जिल्लाका सबै गाउँपालिकाका उम्मेदवारको टुङ्गो लगाइसकेको छ ।

जानकी नगरपालिकाको प्रमुखमा गङ्गा चौधरी र उपप्रमुखमा सूर्य वटलालाई उम्मेदवार बनाउने निर्णय गरेको जोशीले बताए ।

यसैबीच राप्रपाले धनगढी उपमहानगरको प्रमुखमा विष्णुबहादुर शाहु र उपप्रमुखमा श्रीमती जनक कुँवरलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टीले जिल्लाका सबै स्थानीय तहमा उम्मेदवारको टुङ्गो लगाइसकेको राप्रपाका जिल्ला अध्यक्ष गजेन्द्रबहादुर सिंहले जानकारी दिए । रासस

प्रकाशित मिति : १२ जेष्ठ २०७४, शुक्रबार ००:००