१८ भाद्र २०८१, मंगलबार | Wed Sep 4 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मकवानपुरमा आधा दर्जन पुल बन्दै




हेटौँडा । मकवानपुरको क्षेत्र नं–२ अन्तर्गत पर्ने विभिन्न स्थानमा एक अर्बको लागतमा छ वटा पुल बन्ने भएका छन् । पुल अभावका कारण आवतजवावत तथा उत्पादित वस्तुको ओसारपासार लगायतमा समस्या झेल्दै आएका स्थानीयवासी पुल बन्ने भएपछि खुशी भएका छन् ।

कृषि उपजको पकेटक्षेत्र मानिने स्थानमा नै पुल नहुँदा व्यावसायिक कारोवारमा समस्या भोग्दै आएका क्षेत्र नं २ मा चालु आर्थिक वर्षमा करीब एक अर्बको लागतमा आधादर्जन पक्की पुल बन्ने भएका हुन् । सङ्घीय सरकारको चालु आर्थिक वर्षको बजेटमार्फत पुल निर्माण गर्न लागिएका बताइएको छ । सो निर्वाचन क्षेत्रका सांसद विरोध खतिवडाको विशेष पहलमा पक्की पुल निर्माण गर्न लागिएको जनाइएको छ ।

लामो समयदेखि पुल अभावको समस्या झेल्दै आएका स्थानीय बासिन्दाको सुविधाका लागि सरकारले बजेट छुट्याएर पुल निर्माण गर्न प्रक्रिया अगाडि बढाएको हो । सङ्घीय सरकारको लगानीमा मनहरी गाउँपालिकाको सानान्टार–हाँडीखोला जोड्ने पक्की पुल १७ करोड लागतमा निर्माण गर्न लागिएको बताइएको छ ।

सांसद खतिवडाका अनुसार राक्सीराङ गाउँपालिकाको सरिखेत–चुलिगङ्खोला, मकवानपुरगढी गाउँपालिकाको डुम्रेकुना–गढी, थाहा नगरको घर्तीखोला–थाहानगर तसार खोला, भीमफेदी गाउँपालिकाको इपा कोगटे गाउँमा पनि पुल निर्माणको प्रक्रिया अगाडि बढाइएको छ ।

केही पुलको बोलपत्र आह्वान प्रक्रिया पनि अगाडि बढाइएको छ । पुल निर्माण हुने निर्णयले स्थानीयवासी खुशी भएका छन् । पुल अभावका कारण स्थानीय नागरिकले निकै समस्या भोग्नुपरेको मनहरि गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले बताए । रासस

प्रकाशित मिति : २७ कार्तिक २०७६, बुधबार ००:००