१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भोजपुर नगरपालिकाः खानेपानी आयोजना शिलान्यास




भोजपुर । भोजपुर जिल्लामा विगत लामो समयदेखि हुँदै आएको खानेपानीको समस्या समाधान हुने भएको छ । साना शहरी खानेपानी तथा सरसफाइ आयोजनाको आज शिलान्यास भएसँगै स्थानीयमा पानीको समस्या हट्ने आशा बढेको हो ।

नेपाल सरकारको ७० प्रतिशत, नगर विकास कोषको ऋण २५ प्रतिशत र स्थानीय उपभोक्तको ५ प्रतिशत गरी कूल ४९ करोड, ७९ लाख ९८ हजारमा आयोजनाको निर्माण कार्य शुरु भएको हो । आयोजनाले भोजपुर नगरपालिका क्षेत्रका वडा नं ५, ६, ७, ८, ९ र १२ वडाका दुई हजार २८० घर लाभान्वित हुने सिलिचुङ खानेपानी तथा सरसफाइ मूल उपभोक्ता समितिका अध्यक्ष प्रवीनकुमार सुवालले जानकारी दिए । अध्यक्ष सुवालका अनुसार आयोजनाको प्रशारणलाइन ३६ किलोमिटर, वितरण लाइन ७६ किलोमिटर गरी जम्मा लाइन ११३ किलोमिटर हुनेछ ।

अध्यक्ष सुवालले भने, “आजबाट आयोजनाको कामको शिलान्यास भएको छ, हामीले करीब एक करोड २२ लाख जति रकम ठेकेदारलाई मोविलाइजेशन खर्च भुक्तान गरिसकेका छौँ ।” टेम्केमैयुङ गाउँपालिका–१ तिम्माको तीनभङ्गालेबाट पानी सदरमुकाम ल्याउने जनाइएको छ । आयोजनाको दुई वर्षभित्र सम्पन्न गर्ने गरी हुवासुई कन्काइ जेभीले जिम्मा लिएको छ ।

कुनै पनि बाधा अवरोध नआएमा समयभित्र नै सम्पन्न गरी सदरमुकामसम्म पानी ल्याउने ठेकेदार कम्पनीले प्रतिबद्धता जनाएको छ । ठेकेदार जनसेवक भण्डारीले भने, “सम्पूर्ण तयारीका साथ कामको थालनी गरेका छौं, आकस्मिक रुपमा कुनै अवरोध आएन भने निर्धारित समयमा सम्पन्न गर्छौं ।”

कामलाई, गुणस्तरीय र प्रभावकारी ढङ्गले समयमा सम्पन्न गर्नुपर्ने स्थानीयको भनाइ छ । स्थानीय सम्मरबहादुर मोक्तानले भने, “विगतमा अन्योल थियो, कामको शिलन्यास भएपछि पानी आउनेमा हामी ढुक्क छौँ, यसले पानीको समस्या समाधान हुने आशा गरेका छौँ ।”

उपभोक्तालाई पानी विवरण गर्नको लागि दुई ओटा प्रशोधन ट्याङ्की, ६ वटा इन्टेक र १० वटा पानी पोखरी निर्माण गरिने जानकारी दिइएको छ । आयोजनाको निर्माण सम्झौता २०७५ चैत्र १७ गते काठमाडौंमा सम्पन्न भएको थियो । रासस

प्रकाशित मिति : २४ कार्तिक २०७६, आइतबार ००:००