७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाक्सिला बजार प्रदेश सरकारको लगानीमा स्तरोन्नति




खोटाङ । जिल्लाको उत्तरी क्षेत्रका स्थानीयवासीको प्रमुख व्यापारिक केन्द्र बाक्सिला बजार स्तरोन्नति गरिएको छ । ४४ वर्षदेखि चित्राको छाप्रोमा सञ्चालन हुँदै आएको बाक्सिला बजारको होटल तथा पसललाई व्यवस्थित गर्न प्रदेश नं १ सरकारको एक करोड लगानीमा स्तरोन्नति गरिएको हो ।

विसं २०३२ देखि हालसम्म बाँसको चित्राले बनेको टहरामा सञ्चालन भइरहेको बाक्सिला बजार प्रदेशसभा सदस्य राजन राईको पहलमा प्राप्त बजेटबाट स्तरोन्नति गरिएको केपिलासगढी गाउँपालिका प्रमुख कृष्णकुमार राईले बताए । प्रदेश सरकारबाट प्राप्त एक करोडमध्ये ८६ लाख नौँ हजार मै स्तरोन्नतिको काम पूरा गरिएको निर्माण उपभोक्ता समितिका अध्यक्ष शिवकुमार राईले बताए ।

हरेक हप्ताको बुधबार हटिया लाग्दै आएको बाक्सिला बजारमा १३६ बाँसको छाप्रो हटाएर १७ फलामे ट्रष्ट, बधशाला, खानेपानीको धारा, महिला तथा पुरुषका लागि छुट्टाछुटै चार शौचालय, फोहर व्यवस्थापन केन्द्र, ढल, प्रतिक्षालयलगायत निर्माण गरिएको छ । बाँसका भाटा, चित्रा तथा काठले बनेका छाप्रो हटाइएपछि बाक्सिला बजारको मुहार फेरिनुका साथै हिउँदको समयमा हुनसक्ने आगलागीको जोखिमसमेत हटेको बजार व्यवस्थापन समितिले जनाएको छ ।

केपिलासगढी गाउँपालिका–४ मा पर्ने बाक्सिला बजारमा विशेषगरी अर्ग्यानिक कृषि उपज खरीद तथा बिक्री हुने गरेको छ । बाक्सिला बजार उत्तरी क्षेत्रमा बसोबास गर्ने स्थानीयवासीको प्रमुख व्यापारिक केन्द्र तथा किराती ऐतिहासिकस्थलसमेत भएकाले व्यवस्थित बनाउँदै आधुनिकीकरण गर्ने काम शुरु गरिएको हो ।

पुरानो संरचना मात्रै रहेको ऐतिहासिकस्थल बाक्सिला बजारमा उपभोक्ता तथा व्यापारीको चाप बढेपछि विशेषगरी खानेपानी तथा शौचालयको अभाव देखिएको थियो । करीब आठ रोपनी क्षेत्रफल जग्गा ओगटेको बाक्सिला बजार स्तरोन्नति गरिएसँगै धुपी, कपुर, सिरिस, काल्की र करवीर जातको २५० बिरुवासमेत रोपिएको छ । रासस

प्रकाशित मिति : २४ कार्तिक २०७६, आइतबार ००:००