५ श्रावण २०८१, शनिबार | Sun Jul 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘हरेक स्थानीय तहमा उद्योगग्राम’




मेलम्ची । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले हरेक स्थानीय तहमा उद्योगग्राम खोलेर युवालाई उद्यममा जोड्ने बताएका छन् । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–७ अमलटारमा प्रदेश सरकारको लगानीमा निर्मित भूकम्पपीडित युवा उद्यमी तालीम केन्द्र भवनको उद्घाटन गर्दै उनले युवाका सीपलाई उद्यममा जोड्न सके मात्र मुलुक समृद्ध बन्ने बताए ।

“हामी हरेक स्थानीय तहमा एक उद्योगग्राम खोल्ने अभियानमा छौँ”, उनले भने, “प्रदेश सरकारले युवालाई उद्यममा जोडेर, उत्पादनमा लगाउने अभियान शुरु गरिसकेको छ ।” मुख्यमन्त्री पौडेलले युवाहरुलाई उद्यम र उत्पादनमा जुट्नसमेत आग्रह गरे । विभिन्न गाउँ–ठाउँमा उत्पादित कृषि उत्पादनले बजार नपाएकाप्रति इङ्गित गर्दै उनले प्रदेश सरकारले कृषि उत्पादनका लागि बजार खोजिदिने प्रतिबद्धतासमेत व्यक्त गरे ।

“बजार पाइँदैन भन्ने चिन्ता नगर्नुस्, हामी हरेकखाले उत्पादनलाई बजारको व्यवस्था गरिदिन्छौँ”, उनले भने, “सिन्धुपाल्चोकको उत्पादन चितवन जानसक्छ, चितवनको उत्पादन अब सिन्धुपाल्चोक आउनसक्छ ।” कार्यक्रममा प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुणप्रसाद नेपालले उद्योगको विकास र उद्यमशीलताबाट नै प्रदेशलाई समृद्ध बनाउने अभियानमा सरकार अघि बढेको बताए । रासस

प्रकाशित मिति : २२ कार्तिक २०७६, शुक्रबार ००:००