१२ बैशाख २०८१, बुधबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तिलोत्तमा नगरपालिकामा दुग्ध प्रशोधन केन्द्र स्थापना हुने



बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा आधुनिक दुग्ध प्रशोधन केन्द्र स्थापना हुने भएको छ । असोज ९ गते सम्पन्न तिलोत्तमा लगानी सम्मेलनमा नगरपालिकाले दुग्ध प्रशोधन केन्द्र परियोजनालाई ‘सोकेश’ मा राखेको थियो ।

करीब ४० करोडको लागतमा दुग्ध प्रशोधन परियोजना निर्माण गर्न लुम्बिनी विशिष्टीकृत सहकारी सङ्घले काम अघि बढाएको हो । तिलोत्तमा नगरपालिकाले परियोजनका लागि चार बिघा जग्गा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।

सङ्घले प्रदेश ५ का झण्डै ४०० सहकारीकर्मीबीच अन्तरक्रिया गरेर दुग्ध प्रशोधन परियोजनाको बारेमा अवधारणा सार्वजनिक गरेको छ । रुपन्देहीसहित प्रदेश नं। ५ का सबै जिल्लामा उत्पादित दूधको बजारीकरणमा टेवा पु¥याउने उद्देश्यले दुग्ध प्रशोधन केन्द्रको अवधारणा अघि सारिएको हो । उचित बजारीकरण नहुँदा दूध उत्पादन हुने मुख्य सिजनमा यहाँका किसानले मिल्क होलिडेको समस्या भोग्न बाध्य छन् ।

यस्तै लागतअनुसारको मूल्य पनि पाउन सकेका छैनन् । किसानलाई दूध उत्पादनमा प्रोत्साहन गर्दै दूधको बजार सुनिश्चित गराउन परियोजनाको अवधारणा अघि सारिएको तिलोत्तमा नगर प्रमुख वासुदेव घिमिरेले बताए ।

तिलोत्तमाले आफ्ना दूध उत्पादक किसानलाई प्रतिलिटर दूधमा एक अनुदान र पशु बीमा रकममा ५० प्रतिशत अनुदान दिँदै आएको छ । यस्तै पशुको पञ्जिका राख्ने तथा पशुपालन राहत कोष र समूहमा पशुपालन गर्ने महिलालाई बैंक ब्याजमा अनुदान दिने व्यवस्था पनि मिलाएको छ ।

युएचटी दुग्ध प्रशोधन परियोजना निर्माणमा प्रदेश सरकारले समेत सघाउने जनाएको छ । प्रदेश भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री आरती पौडेलले दुग्ध प्रशोधन परियोजनाको स्थापनाले दूध उत्पादन, प्रशोधन र बिक्री वितरण सहज हुने भएकाले यसमा प्रदेश सरकारले पनि आवश्यक सहयोग गर्ने बताए ।

प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठ रुपन्देही जिल्ला दुग्ध उत्पादनमा विशिष्ट स्थान हासिल गरेको भन्दै दुग्ध प्रशोधन परियोजना स्थापना भएपछि त्यसको फाइदा किसानले लिन सक्ने बताए । दुग्ध प्रशोधन परियोजनासम्बन्धी अवधारणा तयार पारेका प्रदेश नं ५ का पशुपक्षी तथा मत्स्य निर्देशनालयका प्रमुख तुलसीराम भण्डारीले सहकारीले नै प्रवद्र्धन गर्ने परियोजना आफैँमा सबैका लागि प्रेरणादायी बन्ने बताए ।

लुम्बिनी विशिष्टीकृत सहकारी सङ्घका अध्यक्ष खगराज शर्माले प्रदेश नं ५ का सहकारीकर्मीको उत्साहले परियोजनालाई गन्तव्यमै पु¥याउने बताए । रासस

प्रकाशित मिति : २० कार्तिक २०७६, बुधबार ००:००