३ बैशाख २०८१, सोमबार | Tue Apr 16 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निर्वाचन नतिजा अपेक्षाकृत भएको माओवादीको निष्कर्ष



काठमाडौँ, नेकपा माओवादी केन्द्र हेडक्वार्टरको बैठकले पहिलो चरणको स्थानीय तह निर्वाचनमा पार्टीले प्राप्त गरेको नतिजा अपेक्षाकृत नै भएको निष्कर्ष निकालेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको बैठकले निर्वाचनको नतिजा अपेक्षाकृत भएको समीक्षा गरेको हो ।

पार्टी एकता भए पनि सङ्गठन व्यवस्थित बन्न नसकेको र अस्तव्यस्तताका बीच निर्वाचनमा होमिए तापनि जनमत अपेक्षाकृत नै भएको बैठकले निष्कर्ष निकालेको हो ।

बैठकमा पहिलो चरणको निर्वाचन सम्पन्न भएका २८३ स्थानीय तहमध्ये ४६ स्थानमा विजय हासिल गरिएको र ५० भन्दा बढी तहमा ५०० भन्दा कम मतान्तरले पराजित भएको समीक्षा गर्दै उक्त ठाउँहरु आगामी प्रदेश र सङ्घको निर्वाचनमा पार्टीले विजय हासिल गर्ने आधार भएको निष्कर्ष निकालिएको छ ।

बैठकले संख्याको दृष्टिले दलहरुले प्राप्त गरेको सिट संख्या फरक देखिए पनि जनमतका दृष्टिले माओवादी कमजोर नभएको निष्कर्ष निकालेको छ ।

बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहालले सिंहदरबारमा केन्द्रित अधिकारलाई जनताको घरआँगनमा लैजानु र स्थानीय तहलाई बलियो बनाउन निर्वाचन सम्पन्न गर्नु नै माओवादीको जित भएको बताएका छन् ।

बैठकले पहिलो चरणको निर्वाचनको समीक्षा गर्दै दोस्रो चरणको निर्वाचनमा थप विजय हासिल गर्न आवश्यक रणनीति तय गर्ने निर्णय पनि गरेको छ ।

बैठकले दोस्रो चरणको निर्वाचनका लागि पार्टीका तर्फबाट प्रभावकारी रुपमा कार्ययोजना बनाउने र छिटै उम्मेदवार चयन गरेर निर्वाचनमा होमिने निर्णय भएको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् । रासस

प्रकाशित मिति : ८ जेष्ठ २०७४, सोमबार ००:००