८ श्रावण २०८१, मंगलबार | Tue Jul 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आगामी आर्थिक वर्षभित्र भोजपुरका सबै घरमा विद्युत् बल्छः मुख्यमन्त्री राई




भोजपुर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले भोजपुरको सम्पूर्ण स्थानीय तहमा अर्को आर्थिक वर्षभित्रमा विद्युत् विस्तार गरिसक्ने बताएका छन् ।

भोजपुरको पौवादुङमा गाउँपालिकामा च्याङ्ग्रेली सद्भाव सेवा समाज भोजपुरले आयोजना गरेको कार्यक्रममा उनले भने, “प्रदेशले भोजपुर जिल्लाकोतर्फबाट नेतृत्व पाएको छ, मैले विकासको कामलाई प्राथमिकताका साथ अगाडि बढाएको छु, आगामी आर्थिक वर्षभित्र भोजपुरका सबै स्थानीय तहमा पूर्णरुपमा विद्युत् विस्तार हुन्छ ।”

मुख्यमन्त्री राईले भोजपुरको पौवादुङमा गाउँपालिका र धनकुटाको सिमाना पर्ने अँधेरीघाटमा पुल निर्माणसँगै सडक विस्तार गरिनेसमेत बताए । विकास लागि प्रशस्तमात्रामा बजेट विनियोजन गरेको बताउँदै मुख्यमन्त्री राईले विकासको कामलाई देखावटीमा मात्र नभएर गुणस्तरीय उपलब्धिमूलक बनाइनुपर्ने विचार व्यक्त गरे ।

उनले भने, “विकासका लागि धेरै बजेट विनियोजन गरिएको छ, तर बजेट उपलब्धिमूलक ढङ्गले खर्च हुन सकेको छैन, हामीले विकासको काम गर्दा बजेट सक्न मात्रभन्दा पनि जनता सेवा पाउने तवरबाट गर्नुपर्छ यसमा मेरो गम्भीर ध्यान गएको छ ।”

मुख्यमन्त्री राईले सङ्घीयता कार्यान्वयनसँगै जनताले विकासको अनुभूति गर्न पाएको भए पनि कानून निर्माण तथा अन्य विविध कारणले सोचे जस्तो विकास गर्न नसकेको बताए । प्रदेशको विकासमा आफू लागिपरेको बताउँदै उनले यो पाँच वर्षको कार्यकालभित्र जनताले चाहेजस्तो विकास गरेर देखाउनेसमेत बताए ।

उनले भने, “देश समृद्धिको बाटोमा लागि सकेको छ, हामीले विकास निर्माणलाई प्राथमिकतामा राख्दै युवा लक्षित कार्यक्रम लागि प्रदेश सरकारले २० करोड विनियोजन गरेर कार्यक्रम सञ्चालन गर्दैछ ।” युवा शक्ति आफ्नै देशमा आत्मनिर्भर बन्नसके देशको आयस्रोत वृद्धि हुने उनको भनाइ छ । रासस

प्रकाशित मिति : ४ कार्तिक २०७६, सोमबार ००:००