१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

माछापुच्छ्रे गाउँपालिकामा ‘एक परिवार एक करेसाबारी’ अभियान



कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिकाको एउटा वडाले तरकारीमा आत्मनिर्भर हुने योजना अघि सारेको छ । पर्यटकीय गाउँको रुपमा विकास हुँदै गरेको वडा नं ९ मा एक ‘परिवार एक करेसाबारी अभियान’ मार्फत प्रत्येक घरधुरीले तरकारी उत्पादन गर्ने लक्ष्य राखिएको छ ।

प्रसिद्ध माछापुच्छ्रे नमूना पदयात्रा मार्गको प्रस्थान विन्दुको रुपमा रहेको वडामा वर्षेनी स्वदेशी तथा विदेशी पर्यटकको सङ्ख्या वृद्धि भइरहेको अवस्थामा बजारबाट तरकारी आयात गर्नुपर्ने बाध्यता अन्त्य गर्न प्रत्येक परिवारले तरकारी उत्पादन गर्ने गरी अभियान शुरु गरिएको बताइन्छ ।

अभियानअन्तर्गत वडाका सबैको घर÷घरमा करेसाबारी बनाइने भएको छ । वडाका पर्यटकीय गाउँ घलेल, कुइबाङ, सैंतीघट्ट, चित्रेश्वाँरा, प्रुम्धु, तक्रो, इमु, सिधिङलगायत पर्दछन् । वडामा ३२६ घरधुरी रहेकोमा प्रत्येक परिवारलाई अभियानमा जोडिने र उत्पादनमा लगाउने योजना अघि सारिएको वडाध्यक्ष दुर्गाबहादुर क्षेत्रीले बताए ।

प्रत्येक घरमा करेसाबारी बनाउने लक्ष्य लिइएको अभियानलाई तीन चरणमा विभाजन गरिएको छ । पहिलो चरणमा सहकारी गठन, दर्ता र व्यवस्थापनको काम गरिने भएको छ भने दोस्रो चरणमा करेसाबारी निर्माणदेखि अनुगमनसम्मका काम गरिने तथा तेस्रो चरणमा व्यावसायिक तरकारी उत्पादनसँगै निर्यात गर्नसक्ने बनाएर वडालाई अर्गानिक तरकारी पकेट क्षेत्र घोषणा गरिने लक्ष्य रहेको क्षेत्रीको भनाइ थियो ।

अभियानअन्तर्गत १४ वटा नर्सरी विकास, भकारो सुधार, खोर सुधार लगायतका कार्यक्रम गरिने र त्यसका लागि ११ लाख ९२ हजार बजेट विनियोजन गरिएको छ । “घरका करेसाबारी बाँझै छन्, बजारबाट तरकारी आयातका लागि मासिक लाखौँ रुपैयाँ खर्च गर्नुपर्ने बाध्यता छ”, “पर्यटकीय गतिविधि बढेसँगै तरकारीमा आत्मर्निभर बन्दै थप आयआर्जन वृद्धि गर्ने उद्देश्य हो”, क्षेत्रीले भने ।

स्थानीयले करेसाबारी भए पनि तरकारी नलगाउने बरु जमिन बाँझै राख्ने गरेकाले वडा हुँदै गाउँपालिकासम्मलाई समृद्ध बनाउने योजना रहेको गाउँपालिका उपप्रमुख कृष्णकुमारी दवाडीले बताए । गाउँपालिकाले अघि सारेको ‘पर्यटन, कृषि, उर्जा र पूर्वाधार, समृद्ध माछापुच्छ्रे«को मूल आधार’ नारालाई सार्थक बनाउन ‘एक परिवार एक करेसाबारी’ अभियानले सघाउने विश्वास व्यक्त गर्दै उनले गाउँकै करेसाबारीबाट अर्गानिक तरकारी टिपेर खान पाउने अवस्था रहेमा पर्यटकको आगमन पनि बढ्ने बताए । रासस

प्रकाशित मिति : ४ कार्तिक २०७६, सोमबार ००:००