२५ कार्तिक २०८१, आइतबार | Sun Nov 10 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिमितलाई औषधि पाउनै मुस्किल




जाजरकोट । आठबिसकोट नगरपालिका–९ रुकुमपश्चिमकी ममता पुनले छोरी बिरामी भएपछि आठविसकोट राडीस्थित नगर अस्पतालमा उपचारका लागि लगिन् । उनले त्यहाँ लगे पनि छोरी रेनुका पुनको उपचारमा सहज भएन । स्वास्थ्य बीमा गरेकी ममताका परिवारले नगर अस्पतालमा उपचार गर्न पुगे पनि औषधि भने निजी औषधि पसलबाट खरीद गर्न बाध्य भएको बताइन् ।

बिमित भएका स्थानीय उपचारमा आए पनि सहजरूपमा औषधि नपाउँदा व्यक्तिगत रकम खर्च गरेर पसलबाट औषधि खरीद गर्न बाध्य भएको बताउँदै आएका छन् । त्यस्तै नलगाड नगरपालिका–७ रामबहादुर गिरीले नेपालगञ्ज मेडिकल कलेजमा उपचारका लागि गएको तर बिमित भएको रकमबाट उपचार गर्न नपाउँदा आक्रोश पोखे ।

भेरी नगरपालिका–१ रिम्नाका हरिमान पुनले भने, “बीमा गरेका छौँ, यसैबाट काट्नुभन्दा यो रकम कहिले आउँछ, हामीलाई घाटा लाग्छ भन्दै औषधि नै दिन नमान्दा हैरान हुँदै आएको छु ।” बिमितहरु उपचारमा जाँदा व्यक्तिगत रकमबाट उपचार गरेर आउन बाध्य भएका रुकुमपश्चिम आठविसकोट नगरपालिका–६ का कालीबहादुर विकले बताए ।

जाजरकोट जिल्ला अस्पतालको फार्मेसी शाखाले बिमितले औषधि दिनका लागि दररेट नमिल्दा समस्या भएको बताएको छ । बीमाले तोकेको दर एक र फार्मेसीको दर नमिल्दा समस्या भएको फार्मेसी शाखामा कार्यरत लालबहादुर खत्रीले बताए । सदरमुकामदेखि बाहिर उपचारका लागि जाने बिरामी बीमाको रकमबाट उपचार गर्न नपाउँदा दुःख पाएको गुनासो गर्दै आएका छन् ।

आठविसकोटस्थित नगर अस्पतालको विभेदका विषयमा नगरप्रमुख गोरखबहादुर केसीसँग गुनासो गर्दा पनि सुनुवाइ नभएको आठविसकोट नगरपालिका–९ रुकुमपश्चिमकी ममताले बताइन् । बीमाको रकम महीनौँ पछि आउने भएकाले हामीलाई घाटा लाग्ने भन्दै कोहलपुर मेडिकल कलेजमा उपचार गर्न आनाकानी गरेको बिरामीले बताएका छन् । रासस

प्रकाशित मिति : ८ आश्विन २०७६, बुधबार ००:००