१९ आश्विन २०८१, शनिबार | Sun Oct 6 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डुबानका कारण ६४ घरपरिवार विस्थापित




राँझा । बाँकेमा वर्षापछि भएको डुबानका कारण खजुरा गाउँपालिकाका ६४ घरपरिवार विस्थापित भएका छन् । तीन दिनअघिको वर्षाले घर डुबानमा परेपछि ६४ परिवारका २५३ विस्थापित भएको खजुरा गाउँपलिकाकी उपाध्यक्ष एकमाया विकले जानकारी दिइन् ।

उनका अनुसार, विस्थापितलाई अस्थायी बसोबासका लागि गाउँपालिकाले पाल र खानाको व्यवस्था गरिदिएको छ । घरआँगन पूरै जलमग्न भएपछि खजुरा गाउँपालिकाका वडा नं ७ र ८ का सर्वसाधारण सडकमा बस्न बाध्य भएको स्थानीय मायाराम पासीले बताए । गाउँपालिकाले वितरण गरेको पालको साहरामा सडक किनारमा बस्दै आएको पासीले जानकारी दिए ।

वर्षाले खजुरा गाउँपालिका–७ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय पनि डुबानमा परेको छ । डुबानका कारण विद्यालयको पठनपाठनसमेत प्रभावित भएको विद्यालयका प्रधानाध्यापक श्रवणकुमार खड्काले बताए । मानखोलामा आवश्यक तटबन्ध नहुँदा बर्षेनी डुबानको समस्या झेल्नुपरेको उनले बताए ।

अविरल वर्षापछि खजुरा गाउँपालिका–२ गौघाट, पुरैनी, वडा ५ र ६ उढरापुर, वडा नं ७ सिन्दुरे लगायतका ठाउँमा २०० घरपरिवार विस्थापित भएको खजुरा गाउँपालिकाकी उपाध्यक्ष विकले जानकारी दिइन् ।

विस्थापितमध्ये केहीलाई जनसेवा मावि र नेपाल आधाभूत विद्यालय सिन्दुरेमा राखिएको छ भने बाँकी सबै आफन्तको घरमा बसेका छन् । गाउँपालिका उपाध्यक्ष विकका अनुसार, वर्षा रोकिएपछि जनजीवन केही सामान्य बनेको छ । स्थानीयहरु विस्तारै आ–आफ्नो घर फर्किन थालेका छन् । रासस

प्रकाशित मिति : ३ आश्विन २०७६, शुक्रबार ००:००