१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्य क्षेत्रमा फड्को मार्दै खजुरा गाउँपालिका



काशीराम शर्मा

बाँके । बाँकेको खजुरा गाउँपालिका प्राकृतिक स्रोत साधनले सम्पन्न छैन तर, उसले स्वास्थ्य क्षेत्रमा भने फड्को मार्दैछ । झण्डै ११ वर्षअघि खजुरावासीले महायज्ञमार्फत अर्थ सङ्कलन गरेर निर्माण गरेको क्यान्सर अस्पताल अहिले सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको नामले पश्चिम नेपालमा चिनिँदै छ ।

जनता आफैंले दान सङ्कलन गरेर निर्माण गरेको क्यान्सर अस्पतालले सार्थक इतिहास मात्र रचेको छैन, क्यान्सर जस्तो जटिल रोगका बिरामीहरुका लागि बरदान नै सावित भएको छ । नगरोन्मुख खजुरामा स्थापित क्यान्सर अस्पतालले गत वर्षदेखि सेवा शुरु गरेको हो ।

योसँगै खजुरा आफ्ना स्वर्णिम पाइलाहरु अघि बढाउँदै स्वास्थ्य क्षेत्रमा अब्बल बन्ने बाटोमा छ । नगरोन्मुख पालिकाका रुपमा रहेको खजुराले एकपछि अर्को गर्दै आफ्ना पाइलाहरुलाई अघि बढाएको छ । स्थानीय तहको निर्वाचनपछि खजुराले अन्य क्षेत्रजस्तै स्वास्थ्य क्षेत्रमा पनि संवेदनशील भएर विभिन्न कामहरु अघि बढाएको छ ।

स्थानीय सरकार गठनपछि खजुरा गाउँपालिकाले जनताको घरदैलोमै स्वास्थ्य सेवा पु¥याउन भरपूर कोशिश गरिरहेको छ । आर्थिक बर्ष २०७५÷७६ मा गाउँपालिकाले वडा नं १, २, ३, ५ र ७ वडाका प्राथमिक स्वास्थ्य केन्द्रहरुमा रोग पहिचानका लागि प्रयोगशाला स्थापना भइसकेको छ ।

साथै, उढरापुर र राधापुर स्वास्थ्य चौकीमा प्रयोगशालामा प्रयोग हुने औषधि, रिएजेण्ट लगायत अन्य सामग्रीको समेत व्यवस्थापनको काम भइरहेको छ । वडा नं ६ मा आधारभूत स्वास्थ्य सेवा केन्द्रको स्थापना गरी आवश्यक कर्मचारी, औषधि र सामग्रीको व्यवस्थापन गरी सञ्चालनमा ल्याइसकेको छ ।

खजुरा गाउँपालिकाले वडा नं ३ प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति गरी १५ शैय्याको अस्पताल सञ्चालन गर्ने स्वीकृति प्रदान गर्नुका साथै ब्यवस्थापन समितिको पहलमा एक्सरे र इसिजी सेवा सञ्चालन गरिसकेको छ । गाउँपालिकाले आठवटै वडाका नागरिकलाई लक्ष्य गरी स्वास्थ्य सेवा बीमा पनि लागू गरिसकेको छ । चौरासी वर्षमाथिका जेष्ठ नागरिकलाई स्वास्थ्यकर्मीसहित घरमै स्वास्थ्य सेवा दिने गरिएको छ भने जेष्ठ नागरिकको सम्मानमा निःशुल्क स्वास्थ्य शिविर पनि सञ्चालन भइआएको छ । गाउँपालिका अन्तर्गतका नागरिकलाई हात्तीपाइले रोगबाट मुक्त पार्न हात्तीपाइले रोग निवारण आमऔषधि सेवन अभियानसमेत सम्पन्न गरिसकेको छ ।

यसै आर्थिक वर्षदेखि कुष्ठरोग रोकथामका लागि ‘लेप्रोसी पोस्ट एक्सपोजर प्रोफाइलक्सिस’ कार्यक्रममार्फत कुष्ठरोगी र कुष्ठरोग प्रभावित व्यक्तिको सम्पर्कमा रहेका परिवार र छिमेकलाई कुष्ठरोगविरुद्धको औषधि ख्वाउने कार्य पनि सम्पन्न भइसकेको छ । खजुराका ४१ हजार ९८ ९६७ प्रतिशत० नागरिक स्वास्थ्य सेवाबाट प्रत्यक्ष लाभान्वित भएका छन् जसमध्ये १ हजार २७३ जना गर्भवती महिला छन् ।

स्वास्थ्य सेवा अन्तर्गत एक हजार २७३ गर्भवती, ५५२ सुत्केरी र एक हजार ५ जना बालबालिकाले पूर्ण खोप पाएका छन् । यस्तै ‘पूर्ण खोप गाउँपालिका, दिगोपनाको लागि खजुरा’ भन्ने बिशेष कार्यक्रम पनि सम्पन्न भइसकेको छ । खजुरा गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा मानव संसाधनको व्यवस्थापन गर्दै स्वास्थ्य सेवा केन्द्रहरुमा पर्याप्त औषधिको आपूर्ति गरिएको खजुरा गाउँपालिका जनस्वास्थ्य अधिकृत पूर्णबहादुर खड्काले जानकारी दिए ।

आव २०७५÷७६ मा खजुरा गाउँपालिका अन्तर्गतका स्वास्थ्य सेवा केन्द्रहरुमा आवश्यक औषधिको अभाव हुन दिइएको छैन । घरदैलोमै जेष्ठ नागरिक, अशक्त असहायका लागि सबै वडामा निःशुल्क स्वास्थ्य परीक्षण तथा स्वास्थ्य शिविर सञ्चालन गरिएको खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले बताए । गाउँपालिकालाई स्वास्थ्यको ‘हब’ बनाउने लक्ष्य राखिएको छ ।

स्वास्थ्य चौकी स्थापना हुन नसकेको वडा नं ४ मा अस्थायी केन्द्र राखेर सेवा सञ्चालन गर्दैआएको कक्षपतिले बताए । आव २०७६÷७७ मा उक्त वडामा पूर्ण दरबन्दीसहित भवन निर्माण कार्य अघि बढाइने भएको छ ।

चालु आर्थिक वर्षदेखि प्रदेश सरकारको समेत सहभागितामा ८४ वर्ष पूरा गरेका जेष्ठ नागरिकलाई घरदैलोमै स्वास्थ्यकर्मी पु¥याएर स्वास्थ्य जाँच गर्नुका साथै निःशुल्क औषधि उपचारको व्यवस्था गर्ने गरी नीति तयार पारिएको छ ।

मुटु, मिर्गौला, कलेजोका जटिल रोग लागेका असहाय, विपन्न वर्गका लागि स्वास्थ्य उपचार सेवाका साथै आर्थिक सहयोगको व्यवस्था गर्ने गाउँपालिकाको योजना छ । महिला तथा बालबालिकाको पोषण अवस्था सुधार गर्न कार्यक्रम नै सञ्चालन गर्ने तयारी गरेको अध्यक्ष कक्षपतिले बताए । उनका अनुसार योगा पार्क निर्माणको सम्भाव्यता अध्ययन पनि गरिने भएको छ ।

नागरिक स्वास्थ्य पहिलो शर्त

खजुरालाई नमूना गाउँपालिका बनाउन अभियान नै सञ्चालन गरिएको छ । नमूना गाउँपालिका बनाउन शिक्षा, स्वास्थ्य, पूर्वाधार, सञ्चारजस्ता सेवाहरु नागरिकले सहजै पाउने वातावरण बनाउन लागिपरेको गाउँपालिकाका सूचना अधिकृत दिलबहादुर पौडेलले बताए । स्वास्थ्य सेवालाई गाउँपालिकाको सबै नागरिकको पहुँचमा पु¥याउन सबै वडामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालनलाई निरन्तरता दिइएको छ ।

पौडेलका अनुसार जेष्ठ नागरिकका लागि वडा नं ३ मा ‘खुशीघर’ निर्माण कार्य यसै आर्थिक वर्षदेखि शुरु हुँदैछ । खजुरा गाउँपालिकाले ५ नं प्रदेश सरकारको आर्थिक सहयोगमा ८४ वर्ष पूरा गरेका जेष्ठ नागरिकको घरमै पुगेर निःशुल्क औषधि उपचार गर्ने नीति अनुसार २०० जेष्ठ नागरिकको घरमा पुगेर उपचार गर्ने कार्यलाई निरन्तरता दिइरहेको स्वास्थ्य शाखाका संयोजक पूर्णबहादुर खड्काले बताए ।

यसरी वडामै पुगेर निःशुल्क स्वास्थ्य परीक्षणका साथै औषधि उपलब्ध गराएपछि जेष्ठ नागरिक हर्षित भएका छन् । “टाढा अस्पतालसम्म पुग्न नसक्ने आफूहरु जस्ता नागरिकले दैलोमै सेवा प्राप्त गर्न पाउनु खुशीको कुरा हो,” खजुरा १ बिरपुरका ८० वर्षीय दयाराम थापा क्षेत्रीले भने–“दम बढ्ने, हिँड्डुल गर्न नसक्ने हाम्रा लागि घरदैलोमै स्वास्थ्य सेवा बरदानजस्तै भएको छ । हरेक महिनामा सञ्चालन गर्न सके हामी जस्तालाई बूढापाकालाई निक्कै सहज हुने थियो ।” गाउँपालिकाले जेष्ठ नागरिकका लागि वर्षमा दुई पटकसम्म स्वास्थ्य परीक्षण गर्ने लक्ष्य राखेको छ । रासस

प्रकाशित मिति : ३१ भाद्र २०७६, मंगलबार ००:००