५ श्रावण २०८१, शनिबार | Sun Jul 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सानो नेते खोलामा पक्की पुल निर्माण




सुरुङ्गा । दक्षिणी इलामको सूर्योदय नगरपालिका र रोङ गाउँपालिका जोड्ने सडक खण्डको सानो नेते खोलामा पक्की पुल निर्माण भएपछि उत्तरी झापा र दक्षिणी इलामका स्थानीय बासिन्दा प्रत्यक्ष लाभान्वित भएका छन् ।

अर्जुनधारा नगरपालिका–१ सानो नेते खोलामा पक्की पुल निर्माण भएपछि अर्जुनधारा–१ र २ सँगै इलामको दक्षिणी भेगमा पर्ने रोङ गाउँपालिका र सूर्योदय नगरपालिकामा बसोबास गर्ने स्थानीयलाई सहज हुने भएको छ ।

विशेष गरेर हाटबजार गर्ने, स्थानीय उत्पादन बजारसम्म पु¥याउने कृषकका लागि पुल वरदान सावित भएको छ । छिमेकी स्थानीय तह रोङ गाउँपालिकासँगको साझेदारीमा गत असार १५ गते निर्माण सम्पन्न भएको पुलको शनिबार पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता झलनाथ खनालले उद्घाटन गरेसँगै सञ्चालनमा आएको छ । निर्माणसँगै त्यस क्षेत्रका स्थानीयवासी हर्षित बनेका हुन् ।

निर्माण उपभोक्ता समितिका अनुसार गत चैत ८ गते सम्झौता भई निर्माण शुरु भएको उक्त पुलको जम्मा लागत जनसहभागितासहित ६७ लाख २१ हजार ८२८ रहेको छ । पुल निर्माण गर्न अर्जुनधारा नगरपालिकाबाट ३० लाख, गाउँपालिकाबाट २० लाख र प्रदेश निर्वाचन क्षेत्र इलाम १ ‘ख’ बाट १० लाख विनियोजन भएको समितिका अध्यक्ष महेन्द्रकुमार बरालले जानकारी दिए ।

“विशेषगरी वर्षाको समयमा वर्षौंदेखि यस क्षेत्रका सर्वसाधारणले समस्या झेल्दै आएका थिए”, अर्जुनधारा नगरपालिकाका अध्यक्ष हरिकुमार रानाले भने, “सानो नेतेमा पुल निर्माण भएपछि अब अर्जुनधारा–१ खुदुनाबारी क्षेत्रका सर्वसाधारण र इलामका सबैलाई फाइदा पुग्नेछ ।

“दक्षिणी इलाकाका सूर्योदय नगरपालिका र रोङ गाउँपालिकाका सर्वसाधारणका लागि प्रमुख बजार भनेकै अर्जुनधारा र विर्तामोड हो”, अर्जुनधारा नगरपालिका–१ का वडाध्यक्ष गजाधर खतिवडाले भने, “पुल निर्माण भएपछि वर्षौँदेखिको समस्या हल भएको छ ।” रासस

प्रकाशित मिति : ३० भाद्र २०७६, सोमबार ००:००