१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अविरल वर्षाका कारण ग्रामीण सडक अवरुद्ध



विमलबहादुर विष्ट

डोटी । तीन दिनदेखिको लगातारको अविरल वर्षाका कारण जिल्लाका ग्रामीण सडकहरु अवरुद्ध भएका छन् । लगातारको वर्षापछि जिल्लाका विभिन्न स्थानमा रहेका ग्रामीण सडकहरुमा पहिरो खस्दा यातायात आवागमनमा कठिनाइ भएको शैलेश्वरी यातायात व्यवसायी समिति दिपायल डोटीले जनाएको छ ।

ग्रामीण सडकमा पहिरो आउँदा उक्त सडकमा चल्ने सार्वजनिक यातायातका यात्रुले कष्टकर यात्रा गर्न बाध्य भएका छन् । पहिरोका कारण केआइसिंह गाउँपालिकाबाट बोगटान फुड्सिलसम्म जाने कच्ची मार्गमा समेत दुई दिनदेखि यातायात सञ्चालन हुननसकेको स्थानीयवासी सुमन भट्टले बताए । उनले भने, “केआइसिंह बोगटान फुड्सिल सडकको काफली भन्ने ठाउँमा पहिरो आउँदा सडक अवरुद्ध भएको छ, पानी परिरहेकाले सडक खुलाउन सकिरहेको छैन ।”

त्यस्तै जिल्लाको मौवा मेल्लेक सडकखण्डका विभिन्न ठाउँहरुमा पनि वर्षाले पहिरो आउँदा यातायातका साधन चलाउन समस्या भएको शैलेश्वरी यातायात समितिका रुट इन्चार्ज प्रेमबहादुर रावलले बताए । उनले भने, “लगातारको वर्षाले विभिन्न ठाउँमा पहिरो आउँदा पहिरो पन्छाउनमा समस्या भएकाले यातायात सञ्चालन गर्न समस्या भएको छ ।”

त्यसैगरी दिपायलदेखि गडसेरा जोड्ने सडकमा पनि पहिरो आउँदा उक्त सडकमा यातयातका साधन चल्न बन्द भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलले जनाएको छ । जिल्लाका अन्य बिपीनगर–गड्सेरा, सिलगढी–झिग्राना, शान्तिनगर–नारी–दाङ, मौवा–सायल, तल्कोट–धुर्कोट सडकमा समेत पहिरो र पानीले गर्दा यातायात सञ्चालनमा कठिनाइ भएको यातायात व्यवसायी बताउँछन् ।

पहिरोले ग्रामीण सडकमा यातायात सञ्चालन गर्न निकै समस्या भएको शैलेश्वरी यातायात समितिका जिपचालक मदन विकले बताए । उनले भने, “ठाउँ–ठाउँमा पहिरोले सडक पुरिएका छन्, कतिबेला कहाँ के हुन्छ थाहै छैन ।”

अधिकांश ग्रामीण सडकमा पानी निकास हुने नालासमेत नहुँदा सडकबाटै भल बग्ने गरेका कारण पनि सडक भासिने र भत्किने बढी सम्भावना भएको डिभिजन सडक कार्यालय दिपायल कुल्पातेका डम्बर विष्टले बताए । उनले भने, “सडकमा नाली छैन, पानी जम्मा भएर सडक नै भत्काउने र पहिरो निकाल्ने गरेकाले यहाँका ग्रामीण सडकमा समस्या भएको हो ।”

यतिमात्र नभई यहाँका सञ्चालनमा रहेका बुडर–जोरायल, बिपीनगर–सुवाखान, अत्तरकाडा, बागछेडालगायतका सडकको यात्रा पनि भगवान् भरोसा हुँदै आएको छ । साघुँरा सडक तथा डोजर सञ्चालकको सनकका भरमा काटिएका यहाँका ग्रामीण सडकमा यातयातका साधन चलाउन निकै समस्या हुँदै आएको महाकाली यातायत समितिका दिपायल प्रमुख धनबहादुर बोहराले बताए ।

उनले भने, “बिनानाप नक्साका सडक छन्, एउटा बससमेत बल्लतल्ल चलाउन मिल्छ, त्यसैमाथि पहिरोले झन् बिजोग गराउँछ ।” सुदूरपश्चिमको पुरानो क्षेत्रीय सदरमुकाम दिपायलबाट ग्रामीण भेगका लागि छुट्ने आधा दर्जन जिप ग्रामीण सडक अवरुद्ध हुँदा चल्न पाएका छैनन् । हिउँदमा सडक नालाबिना जथाभावी बाटो खन्ने लहरले गर्दा वर्षामा बाटो बिग्रिएर गाडी चल्न नसक्ने अवस्था आउने गरेको स्थानीयवासीको आरोप छ । हिउँदमा एक घण्टामा पुगिने ठाउँमा अहिले कम्तीमा पनि तीन घण्टा लाग्ने गरेको चालकहरूको गुनासो छ ।

पहिरोले अवरुद्ध भएको सडकमा पहिरो पन्छाएर सवारी साधन गुड्ने बनाउनेतर्फ आफूहरूले पहल गरिरहेको केआइसिंह गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर शाहीले बताए । पहिरो खसेको ठाउँमा डोजर लगाएर पहिरो हटाउने कार्य भइरहेको उनले जानकारी दिए । वर्षा लागेपछि बर्सेनि यहाँका ग्रामीण क्षेत्रका अधिकांश सडकमा सवारी साधन सञ्चालन गर्न कठिनाइ हुने भए पनि त्यसको समस्या समाधानका लागि कसैले पनि ठोस कदम नचालेको बडीकेदार गाउँपालिकाका स्थानीयवासी रोजबहादुर कलेलले आरोप लगाए ।

उनले भने, “वर्षामा ग्रामीण सडक अवरुद्ध हुन्छन् भन्ने सबै निकायलाई जानकारी छ, तर पनि त्यसको समाधानका लागि कसैले पनि पहल चाल्दैनन् ।” गाउँका सडक अवरुद्ध भएपछि अहिले स्थानीयवासीलाई जरुरी कामका लागि सदरमुकाम सिलगढी आउन दुईदेखि तीन दिन लाग्ने गरेको छ । रासस

प्रकाशित मिति : २९ भाद्र २०७६, आइतबार ००:००