५ श्रावण २०८१, शनिबार | Sun Jul 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नदी कटानका कारण निर्माणाधिन झोलुङ्गे पुल उच्च जोखिममा




कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १२ आमघाटमा निर्माण भइरहेको झोलुङ्गे पुल वनहरा नदीको कटानका कारण उच्च जोखिममा परेको छ ।

नदीले पुलको टावर ठड्याइएको क्षेत्रबाटै कटान गर्न थालेपछि निर्माण नहुँदै पुल जोखिममा परेको हो । गत वर्ष नदीको कटान रोक्नका लागि २० लाखको लागतमा तटबन्ध निर्माण गरिएको थियो । तटबन्धका अधिकांश स्पर ढलेपछि नदीको खतरा झनै बढेको स्थानीयवासी लक्ष्मण रानाले बताए । पुलको टावर निर्माण गरिएको ठाउको उत्तरतर्फको क्षेत्रबाट नदीले स्थानीय किसानले लगाएको खेती जग्गासमेत कटान गर्दै आएको छ ।

आमघाटदेखि तिलकीसम्मको क्षेत्र नदीको उच्च जोखिममा रहेकाले बजेटको व्यवस्था गरी भरपर्दो तटबन्ध निर्माण गरिनुपर्ने वडाध्यक्ष बाले रानाले बताए । “तत्काल तटबन्ध निर्माण नगरिए निर्माणकार्य पूरा नहुँदै एक करोड बढीको लागतमा निर्माण भइरहेको झोलुङ्गे पुल खतरामा पर्छ”, उनले भने, “तत्काल तटबन्ध नबनाए यहाँका ६० बढी परिवारको जग्गा कटानसँगै बस्ती पनि उच्च जोखिममा पर्छ ।”

वडा कार्यालयले नदी रोकथामका लागि विनियोजित गरेको थोरै बजेटले नधान्ने भएकाले प्रदेश र केन्द्र सरकारबाट बजेटको व्यवस्था गरी विस्थापनमा पर्न थालेको बस्ती जोगाउन मद्दत गरिनुपर्ने उनले बताए ।

“नदी नियन्त्रणका लागि गुरुयोजनाअन्तर्गत लालझाडी गाउँपालिकाको सीमासम्म गत वर्ष ७५ लाखको बजेटमा तटबन्ध निर्माण गरियो थियो”, अध्यक्ष रानाले भने, “बाढीको उच्च जोखिममा रहेको नजिकैको बस्तीमा तटबन्ध निर्माण गर्ने कार्य भएन । प्रदेश सरकारले गुरुयोजनाअन्तर्गतको नदी नियन्त्रणको कार्य पुनः शुरु गर्नका लागि आग्रह गर्दछौँ ।”

जैविक तटबन्धले यस क्षेत्रमा कार्य नगर्ने भएकाले ढुङ्गाको पक्की तटबन्ध निर्माण गर्न स्थानीय बासिन्दाले माग गरेका छन । रासस

प्रकाशित मिति : २९ भाद्र २०७६, आइतबार ००:००