भीष्मराज ओझा
काठमाडौं । वन तथा वातावरण मन्त्रालयले सफा र स्वच्छ वायु भएको काठमाडौं उपत्यका बनाउने दीर्घकालीन सोचका साथ ‘काठमाडौं उपत्यका वायु गुणस्तर व्यवस्थापन कार्ययोजना’ अघि बढाएको छ ।
मन्त्रालयअन्तर्गतको वातावरण विभागले काठमाडौं उपत्यकामा वायु प्रदूषणको रोकथाम र नियन्त्रण गरी नागरिकको स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने अधिकारको सुनिश्चितता गर्ने लक्ष्यका साथ सो कार्ययोजना अघि बढाएको हो ।
विभागले बुधबार सरोकारवाला निकाय र वातावरण विषयका जानकारहरुसँग काठमाडौं उपत्यकाका लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजनासम्बन्धी छलफल र अन्तरक्रिया गरी सुझाव सङ्कलन गरेको छ ।
अन्तरक्रिया उद्घाटन कार्यक्रममा वनमन्त्री शक्तिबहादुर बस्नेतले कार्ययोजनाले वायु प्रदूषणका समस्याको पहिचानका साथै समाधानका लागि सरोकारवाला निकायको समन्वयमा प्रभावकारी पहल गर्न सहज हुने बताए ।
प्रदूषण नियन्त्रणका लागि नीति र कानूनको व्यवस्था भइसकेको र संरचनागत व्यवस्थाका बारेमा छलफल अघि बढेको बताउँदै उनले कार्ययोजनाअनुसार मुलुकका ठूला शहरको प्रदूषण नियन्त्रण गर्ने लक्ष्य निर्धारण अघि बढ्नुपर्ने धारणा व्यक्त गरे ।
राष्ट्रिय योजना आयोगका सदस्य डा कृष्णप्रसाद ओलीले काठमाडौं उपत्यकामा प्रदूषणले सीमा नाघ्न लागेको भन्दै वर्तमानका आवश्यकता पूरा गर्ने र भावी सन्ततिलाई पर्यावरणीय सुरक्षा हुने गरी मानवीय क्रियाकलाप गर्नुपर्ने आजको आवश्यकता रहेकोमा जोड दिए । साथै उनले अनुसन्धानबाट प्राप्त सुझाव लागू गर्नुपर्ने र प्रदूषण नियन्त्रणका लागि शैक्षिक एवं औद्योगिक समुदायमा पुगेर जनचेतनाका कार्यक्रम अघि बढाउनुपर्ने सुझाव दिए ।
वनसचिव डा विश्वनाथ ओलीले मुलुकको बदलिँदो परिस्थितिमा यसअघि नै तयार भएको सोसम्बन्धी कार्ययोजनालाई परिमार्जनका लागि छलफल गर्न लागिएको बताउँदै विज्ञहरुबाट प्राप्त हुने सुझावले सरकारलाई निर्णय लिन सहज हुने बताए । विभागले सन् २०१७ मा सोसम्बन्धी कार्ययोजना बनाई तयार गरे पनि लागू हुनसकेको थिएन । सोही कार्ययोजनालाई मुख्य आधार बनाई परिमाजर्नसहित छलफल आयोजना गरिएको हो ।
यातायातका क्षेत्र तथा निर्माण गतिविधिबाट हुने र उद्योग प्रतिष्ठानबाट हुने प्रदूषण न्यूनीकरण गर्नु, वातावरणमैत्री तवरबाट फोहरमैलाको व्यवस्थापन गरी वायु प्रदूषण न्यूनीकरण गर्नु र घरभित्रको वायु प्रदूषण न्यूनीकरण गर्नु कार्ययोजनाको उद्देश्य रहेको छ ।
यसैगरी वायु प्रदूषणको अवस्था, कारण र असर एवं न्यूनीकरण एवं रोकथामका सम्बन्धमा जनचेतना जगाउनु, वायु गुणस्तर व्यवस्थापन निर्णय सहयोग प्रणालीको विकास गर्नु, आपत्कालीन अवस्थामा वायु प्रदूषणका व्यवस्थापन गर्नु र वायु प्रदूषण न्यूनीकरणका लागि नीतिगत, कानूनी तथा संरचनाका सुदृढीकरण गर्दै आर्थिक स्रोतको सुनिश्चितता गर्नु कार्ययोजनाको उद्देश्य छ ।
विभागको तथ्याङ्कअनुसार काठमाडौं उपत्यकाको वायुको गुणस्तर सरकारको वायुको गुणस्तरसम्बन्धी राष्ट्रिय मापदण्डविपरीत रहेको पाइएको छ । उपत्यकामा वायु प्रदूषणजन्य रोगहरुको जोखिम बढ्दै गएको विभिन्न अध्ययनले देखाएको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् २०१८ मा नेपालमा वायु प्रदूषणका कारण ३७ हजार मानिसको मृत्यु भएको थियो ।
विभागबाट सन् २०१७ मा गरिएको अध्ययनमा वायु प्रदूषणका मुख्य स्रोतहरुमा यातायातका साधन, सडकमा जम्मा भएको धुलो, उद्योग, इँटाभट्टा, निर्माणजन्य गतिविधि, खुलारुपमा जलाउने कृषिजन्य एवं अन्य फोहर आदि रहेका छन् । रासस
प्रतिक्रिया