१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गोरखामा मतगणना सकियो, एघार मध्ये ९ मा कांग्रेस, २ मा माओवादी केन्द्र



गोरखा, गोरखाका एघारवटै स्थानीय तहमा मतगणना सम्पन्न भएको छ । दुई नगरपालिका र सातवटा गाउँपालिका गरी नेपाली कांग्रेसले नौ स्थानीय तहमा जितेको छ भने दुई गाउँपालिकामा नेकपा माओवादी केन्द्रले जितेको छ । नेकपा एमाले र नयाँ शक्ति पार्टीले कुनै स्थानीय तहमा जित्न सकेनन् ।

गोरखा नगरपालिकामा कांग्रेस

गोरखा नगरपालिकामा ६ हजार ५६० मत ल्याएर नेकाका राजनराज पन्त नगरपालिका प्रमुख पदमा विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका कृष्णबहादुर रानाले पाँच हजार ६० मत ल्याएका छन् ।

उपप्रमुख पदमा नेकाकी बिनाकुमारी श्रेष्ठले ६ हजार २६० मत ल्याएकी छन् भने निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी सम्झना देवकोटाले चार हजार ७०५ मत ल्याएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

गोरखा नगरपालिकामा १४ वटा वडा रहेका छन् जसमध्ये १, २, ४, ५, ६, ८, ९ र १२ वडा नेपाली कांग्रेसले जितेको छ । यस्तै, ३, १० र १४ नं वडामा नेकपा एमालेले जितेको हो भने नेकपा माओवादी केन्द्रले ७, ११ र १३ वडामा जित हासिल गरेको छ ।

पालुङटारमा कांग्रेस

गोरखाको पालुङटार नगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रसका दीपकबाबु कँडेल विजयी भएका छन् । चार हजार ६९८ मत ल्याएर कँडेल विजयी भएका हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका विवश चिन्तनले चार हजार ४९१ मत प्राप्त गरेका छन् ।

उपप्रमुख पदमा माओवादी केन्द्रकी पम्फा बसेल निर्वाचित भएकी छन् । बसेलले चार हजार ४९४ मत प्राप्त गरीन् भने निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी चेतकुमारी श्रेष्ठले चार हजार १९६ मत ल्याएकी छन् । दशवटा वडा रहेको पालुङटारमा नयाँ शक्ति पार्टीले १, ४ र ५ वडामा विजय हासिल गरेको छ ।

यस्तै, २, ६, ८ र १० नं वडामा माओवादी केन्द्र विजयी भयो भने वडा नं ७ मा एमाले विजयी भएको छ । कांग्रेसले वडा नं ३ र ९ जितेको छ । पालुङटार पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, पूर्वसङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डे र कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेको गृहनगर पनि हो ।

भीमसेनमा कांग्रेस

गोरखाको भीमसेन गाउँपालिका प्रमुख पदमा कांग्रेसका ईश्वर पाण्डे तीन हजार ९४३ मतका साथ विजयी भएका छन् । उपप्रमुखमा कांग्रेसकी बिनु वाग्ले तीन हजार ९८३ मतका साथ विजयी भएकी छन् । कांग्रेसले माओवादी केन्द्रका लोकप्रसाद बञ्जरा र लीला श्रेष्ठलाई पराजित गरेकी हुन् ।

आरुघाटमा कंग्रेस

आरुघाट गाउँपालिकाको प्रमुख पदमा कांग्रेसका पूर्णबहादुर दाहालले तीन हजार ६७६ मत ल्याएर विजयी भएका छन् । उपप्रमुखमा कांग्रेसकै कल्पना नेपालीले तीन हजार ६०९ मत ल्याएर विजयी भइन् भने कांग्रेसले प्रमुख र उपप्रमुखमा क्रमशः एमालेका बकबहादुर लामा र मिनु बरामलाई हराएको हो ।

चुमनुब्रीमा कांग्रेस

उत्तरी हिमाली क्षेत्रमा रहेको चुमनुब्री गाउँपालिकाको प्रमुख पदमा नेकाका धनबहादुर गुरुङ एक हजार २५३ मतका साथ विजयी भएका छन् । उपप्रमुखमा माओवादी केन्द्रकी धनकुमारी गुरुङ एक हजार २८५ मतले विजयी भएकी छन् । कांग्रेसले माओवादीका लाक्पा डुण्डुप लामा र माओवादीले कांग्रेसकी छेवाङ लामालाई उपप्रमुखमा पछि पारेको हो ।

धार्चेमा कांग्रेस

धार्चे गाउँपालिकामा कांग्रेसका सन्तबहादुर गुरुङ ९सन्तोष० एक हजार ७०९ मतका साथ विजयी भएका छन् भने उपप्रमुख पदमा कांग्रेसकी फूलमाया गुरुङ एक हजार ५९५ मतका साथ विजयी भएकी छन् । कांग्रेसले नयाँ शक्तिका लक्ष्मण गुरुङ र माओवादी केन्द्रकी आशा तमुलाई हराएको हो ।

अजिरकोटमा कांग्रेस

अजिरकोट गाउँपालिकामा कांग्रेसका फणिन्द्र धिताल तीन हजार ३३ मतका साथ विजयी भएका छन् । उपप्रमुखका कांग्रेसकै चन्द्रमाया गुरुङ तीन हजार ३३ मतले विजयी भएकी हुन् । माओवादी केन्द्रका दीपक देवकोटा र अनिता भुजेललाई कांग्रेसले प्रमुख र उपप्रमुखमा हराएको हो ।

सिरानचोकमा कांग्रेस

सिरानचोक गाउँपालिकामा कांग्रेसका राजु गुरुङले तीन हजार ४०२ मत ल्याएर विजयी हासिल गरेका छन् । यस्तै, उपप्रमुखमा कांग्रेसकै रीता देवकोटाले तीन हजार ४११ मत ल्याएकी छन् । माओवादी केन्द्रका नवराज पुडासैनी र दीपा गुरुङलाई कांग्रेसले हराएको हो ।

गण्डकीमा कांग्रेस

गण्डकी गाउँपालिकामा कांग्रेसका होमबहादुर रानाले चार हजार १६४ मतका साथ विजय हासिल गरेका छन् । कांग्रेसकी ललिता अधिकारीले चार हजार ९७ मतले उपप्रमुखमा विजय हासिल गरेकी छन् । प्रमुख र उपप्रमुखमा माओवादी केन्द्रका दीपक तिमिल्सिना र पूर्णा थापालाई कांग्रेसले हराएको हो ।

सहिद लखनमा माओवादी

सहिद लखन गाउँपालिकामा माओवादी केन्द्रका रमेश थापाले तीन हजार ८०८ मत ल्याएर प्रमुख पदमा विजयी भएका छन् । उपप्रमुख पदमा माओवादीकै इन्दिरा तिवारी तीन हजार ७९८ मतका साथ विजयी भएकी छन् । कांग्रेसका कृष्ण आले र शर्मिला श्रेष्ठलाई माओवादीले हराएको हो ।

सुलिकोटमा माओवादी

गोरखाको सुलिकोट गाउँपालिकामा माओवादी केन्द्रका विष्णु भट्ट चार हजार ६५९ मतका साथ प्रमुख पदमा विजयी भएका छन् । उपप्रमुख पदमा माओवादी केन्द्रकै सनमाया गुरुङ चार हजार ५०१ मतले बिजयी भएकी छन् । कांग्रेसका इन्द्र गुरुङ र जनककुमारी कोइरालालाई माओवादीले हराएको हो ।

मतगणनाको अन्तिम परिणाम घोषणा भएपछि एघारवटै स्थानीय तहमा दलले विजय र्याली निकालेका छन् । करिब २० वर्षपछि निर्वाचित जनप्रतिनिधि पाएको खुसियालीमा गोरखा नगरवासीले प्रमुख पन्त र उपप्रमुख श्रेष्ठलाई बाजागाजासहित नगर परिक्रमा गरेका थिए । निर्वाचन जितेकाहरु अधिकांश हालै जागिर छाडेर राजनीतिमा प्रवेश गरेकाहरु छन् । रासस

प्रकाशित मिति : ५ जेष्ठ २०७४, शुक्रबार ००:००