१७ कार्तिक २०८३, सोमबार | Tue Nov 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निःशुल्क हुन सकेन सरकारी शिक्षा

लेखक स्थानीय खबर/संवाददाता १६ भाद्र २०७६, सोमबार २ मिनेट पढाइ


तुलसीपुर । सरकारले शिक्षालाई नैसर्गिक अधिकारका रुपमा लिएको छ । सरकारी विद्यालयका कुनै पनि बालबालिकाबाट शुल्क लिन नपाउने भनी नेपालको संविधानमै उल्लेख छ । तर त्यो कार्यान्वयन भने हुनसकेको छैन । अहिले विभिन्न बहानामा शुल्क लिने गरिएको छ ।

दाङको दङ्गीशरण गाउँपालिका ६ स्थित मावि श्रीगाउँका प्रधानाध्यापक हर्कबहादुर बुढाथोकीले अहिले विद्यालयले परीक्षा शुल्क लिने गरेको बताए । “हामीले परीक्षा शुल्कसहित प्रत्येक विद्यार्थीबाट ५० देखि १२० सम्म लिने गरेका छौँ”, उनले भने ।

त्यस्तै दङ्गीशरण ३ स्थित मावि हेकुलीका प्रधानाध्यापक खिमराज खनालले कक्षा ६ देखि माथिका विद्यार्थीबाट ६० देखि १०० सम्म परीक्षा शुल्क लिने गरेको बताए । यी त उदाहरण मात्रै हुन्, दाङका अधिकांश विद्यालयले अहिले विद्यार्थीबाट विभिन्न बहानामा रकम उठाइरहेका छन् । यो गैरकानूनी हो ।

विद्यार्थीबाट उठाएको उक्त रकमले विद्यार्थीको परीक्षामा आवश्यक पर्ने कपी, पेपरलगायतमा खर्च हुने गरेको प्रावि कौवाघारीका प्रधानाध्यापक लक्ष्मण देवकोटाले बताए । “विद्यार्थीबाट सङ्कलन भएको यो रकम हामीले परीक्षाकै लागि खर्च गर्छौँ”, उनले भने, “यो रकम अन्य कुनै स्रोतबाट पूर्ति हुन्छ भने हामीले यो पनि लिदैनौँ”, विद्यार्थीबाट लिइने यो शुल्क ‘इलिगल’ भए पनि बाध्यता भएको शिक्षकहरुको भनाइ छ ।

अहिले अधिकांस विद्यालयले मार्कसिटको समेत पैसा लिने गरेको प्रअहरुले बताएका छन् । केही विद्यालयले निजी स्रोतका शिक्षकहरुका लागि वार्षिक ५०० सम्म शुल्क उठाउने गरेका छन् ।

अर्कोतर्फ अहिले गाउँपालिकामा निजी स्रोतका शिक्षक विद्यालयले आफैँ मनोमानी ढङ्गले भर्ना गरेको र ती शिक्षकलाई तलब खुवाउन नसकेको भनी गुनासो आउने गरेको छ ।

दङ्गीशरण गाउँपालिकाका शिक्षा शाखा प्रमुख विनोद अधिकारीले अहिले दङ्गीशरण गाउँपालिकामा रहेका विद्यालय मर्ज गर्नुपर्ने बताए । साथै विद्यार्थीलाई टाढा हुने अवस्था आएमा बस किन्न सकिने तर धेरै विद्यालय हुँदा समस्या भएको उनको भनाइ छ ।

दाङमा ८२ प्रतिशतले शुल्क तिर्नुपर्छ

दाङमा ८२ प्रतिशत अभिभावकले सामुदायिक विद्यालयमा शुल्क तिर्ने गरेको तथ्याङ्क छ । नेपाल इभालुएसन एण्ड एस्एसमेन्ट टिमले दाङको दङ्गीशरण र शान्तिनगर गाउँपालिकामा गरेको सर्वेक्षणले यस्तो देखाएको हो । साथै ७७ प्रतिशतले भर्ना शुल्क, ९८ प्रतिशतले परीक्षा शुल्क तिर्ने गरेको तथ्याङ्क रहेको छ भने १० प्रतिशतले प्रत्यक्ष निजी शिक्षकको तलबका लागि तिर्ने गरेको तथ्याङ्क छ । रासस

प्रकाशित मिति : १६ भाद्र २०७६, सोमबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।