६ श्रावण २०८१, आइतबार | Mon Jul 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दमौली अस्पतालका सुत्केरीले यातायात खर्च पाएनन्



तनहुँको दमौलीस्थित सरकारी अस्पतालमा सुत्केरी गराएका महिला यातायात खर्च पाउनबाट वञ्चित भएका छन् ।

गत आर्थिक वर्ष ०७५/७६ मा दमौली अस्पतालमा सुत्केरी गराएका २३ महिलाले अहिलेसम्म पनि यातायात खर्च पाएका छैनन् ।

सरकारी स्वास्थ्य संस्थामा सुरक्षित सुत्केरी गराउने महिलालाई यातायात खर्चबापत सरकारले २ हजार रुपैयाँ र नियमित ४ पटक गर्भ परीक्षण गर्नेलाई थप ८ सय रुपैयाँ दिँदै आएको छ ।

तर अस्पतालको लापरवाहीले गत आर्थिक वर्षको अन्तिम साता सुत्केरी भएका महिलाले यातायात खर्चबापतको रकम पाउन सकेका छैनन् ।

अस्पतालको सरकारी खाता गत असार २५ गते नै बन्द गरिएको र त्यसपछि कुनै पनि रकम झिक्न नपाएको कारण सो मितिभन्दा पछि सुत्केरी हुन आउनेलाई रकम दिन नसकिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रदीपराज अधिकारीले बताए ।

सुत्केरीले रकम नपाएका बारेमा आफूले नयाँ आर्थिक वर्ष लागेपछि मात्र जानकारी पाएको हुँदा त्यसबारेमा सम्बन्धित कर्मचारीलाई स्पष्टीकरण सोधिएको उहाँले बताउनुभयो ।

गत असार २५ गतेपछि असार ३२ गतेसम्म अस्पतालमा २३ जनाको सुत्केरी गराइएको थियो । ती सबै सुत्केरीले प्राविधिक कठिनाइको कारण अब सरकारी सुविधा नपाउने दमौली अस्पतालकी नर्सिङ अधिकृत जमुनादेवी शर्माले जानकारी दिइन् ।

अस्पतालका लेखापालको लापरवाहीका कारण सुत्केरीले आफ्नो सुविधाबाट वञ्चित हुनुपरेको गुनासो छ । अस्पताल व्यवस्थापन समितिका सदस्य नरेन्द्र ढकालले आर्थिक व्यवस्थापनको कुरा लेखापालले मिलाउनुपर्नेमा नभएकाले समस्या उत्पन्न भएको बताए ।

सो अस्पतालमा गत आवमा ६०७ को सुरक्षित सुत्केरी गराइएको थियो । चालू आवको साउनमा अस्पतालमा सुत्केरी गराएका ७२ महिलाले पनि यातायात खर्च पाएका छैनन् ।

चालू आवमा अहिलेसम्म खाता सञ्चालनको अख्तियारी प्राप्त नभएका कारण सुत्केरी भएकालाई रकम उपलब्ध गराउन नसकिएको अस्पताल प्रशासनले जनाएको छ ।

अस्पतालका तत्कालिन लेखापाल पार्वती पौडेल स्वयं सुत्केरी भई बिदामा बसेकाले नयाँ लेखापालको व्यवस्था नभएको र अहिले आर्थिक कारोवार ठप्प रहेको अस्पतालका प्रशासन अधिकृत गुरुदत्त घिमिरेले जानकारी दिए । रासस

प्रकाशित मिति : १४ भाद्र २०७६, शनिबार ००:००