१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सडक मर्मत नभएपछि कार्यालय प्रमुख कार्यकक्षमै थुनिए



कृष्ण न्यौपाने

डिभिजन सडक कार्यालय दमौलीका प्रमुख विष्णुप्रसाद काफ्ले एक घण्टा कार्यकक्षमा थुनिएका छन् ।

पृथ्वीराजमार्ग अन्तर्गत पर्ने तनहुँको शुक्लागण्डकी–कोत्रे सडकखण्डको हलेदीमा भत्किएको सडकमर्मत गर्ने सहमति कार्यान्वयन नभए पछि स्थानीयबासीले थुनेका हुन् ।

शुक्लागण्डकी नगरपालिका–२ गाछेपानी क्षेत्रका स्थानीयवासीले कार्यालय प्रमुख काफ्लेसहित इञ्जिनीयर सचिन श्रेष्ठलाई प्रमुखको कार्यकक्षममा राखेर चुकुल लगाएर थुनेका हुन् ।

राजमार्ग जीर्ण भएर ठाउँ–ठाउँमा भत्किँदा धुलो र हिलोले समस्या परेको भन्दै स्थानीयवासीले गत चैत २४ गते राजमार्ग अवरुद्ध गरेपछि सरोकारवालाको बैठकले ३ महीनाभित्र सडक मर्मतको काम थाल्ने प्रतिबद्धता जनाएको थियो ।

तर सहमति भएको चार महीना बिते पनि मर्मतको काम शुरु नभएपछि बाध्य भएर कार्यालय प्रमुखलाई कार्यकक्षमै थुन्नुपरेको स्थानीयवासी हरि रिमालले जानकारी दिए ।

घाम लाग्दा धुलो र पानी पर्दा हिलोको समस्याले आफूहरु आजित भइसकेको रिमालले गुनासो गरे । रिमालले कार्यालय प्रमुख र ठेकेदारको मिलेमतोका कारण काम हुन नसकेको आरोप लगाए ।

२ वर्ष अघि कालोपत्र गरिएको सडकखण्ड भत्किएर खाल्डो परेपछि सोही खाल्डोमा दुर्घटना बढेको स्थानीयवासी शङ्कर पन्तले बताए ।

“धुलो र हिलोबाट आक्रान्त त भएका छौं नै, दिनदिनै दुर्घटनासमेत भइरहेको छ,” उनले भने “विगतमा पनि पटक–पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराएपनि माग पूरा हुनसकेको छैन ।”

सडक खाल्डो परेर धुलोको समस्याले स्थानीयवासी बिरामी पर्न थालेको अर्का स्थानीयवासी कृष्ण भुजेलले बताए । उनले “धुलोको समस्याले बिरामी नपरेको यहाँको एउटा पनि घर छैन । धुलोबाट साह्रै आजित भइयो ।”

स्थानीयवासीले सोही क्षेत्रका सांसद केदार सिग्देलको रोहवरमा कार्यालय प्रमुख काफ्लेलाई कार्यकक्ष बाहिर निकालेका थिए । सो अवसरमा सांसद सिग्देलले सडक डिभिजन कार्यालयले गम्भीरतापूर्वक स्थानीयवासीको माग पूरा गर्नुपर्नेमा जोड दिए ।

सडक डिभिजन कार्यालयका प्रमुख काफ्लेले यही भदौ १५ गतेबाट सडक मर्मतको काम शुरु गरिने प्रतिबद्धता जनाए । “भदौ १५ बाट काम नथाले ठेकेदारलाई कारवाही गरेर अर्को ठेक्का लगाउँछौ,” काफ्लेले भने ।

सडकमा बग्ने पानी व्यवस्थापन नभएकोले कालोपत्र गरेपनि सडक टिकाउ हुन नसकेको उनले बताए ।

सडक डिभिजन कार्यालयले पुनःस्थापना कार्य अन्तर्गत विसं २०७३ साउन १२ गते रोशन सिद्धगढी जेभीसँग कालोपत्रको सम्झौता गरेको थियो । विसं २०७४ कात्तिक १२ गतेसम्म सम्पन्न गर्ने गरी दोस्रो पटक म्याद थप गरिएको थियो ।

कार्यालयका इञ्जिनीयर सचिन श्रेष्ठका अनुसार २ करोड ७१ लाख रुपैयाँमा ठेक्का लागेको र उक्त कार्यको १ करोड ४१ लाख रुपैयाँ भुक्तानी भइसकेको छ ।

“वेससम्मको काम सम्पन्न भएबापत भुक्तानी भएको छ, कालोपत्रको कुनै पनि रकम भुक्तानी गरिएको छैन,” उनले भने । “काममा कैफियत भएका कारण नै भुक्तानी रोकेका छौ ।”

श्रेष्ठका अनुसार २०७५ चैत २५ गते ठेकेदार कम्पनीलाई सार्वजनिक सूचना जारी गरेर स्पष्टीकरण माग गरिएको थियो ।

एक हप्ताभित्र ठेकेदार कम्पनीले स्पष्टिकरण दिँदै वर्षालगत्तै काम गर्ने प्रतिबद्धता जनाए पनि काम शुरु नभएपछि कार्यालयले विसं २०७६ साउन २९ गते पत्र काटेर चाँडो काम गर्न, नभए शर्त अनुसारको कारवाही गरिने ठेकेदारलाई जानकारी गराएको थियो । रासस

प्रकाशित मिति : ४ भाद्र २०७६, बुधबार ००:००