१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बजार व्यवस्थापन गर्दै तुलसीपुर उपमहानगर




तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिकाले बजार व्यवस्थापन अभियान शुरु गरेको छ । सोहीअनुसार बुधबार तुलसीपुरका सरोकारवाला निकायसँग छलफल पनि गरेको छ । उपमहानगरपालिकालाई स्मार्ट सिटी बनाउनका लागि यहाँको फुटपाथ व्यवसाय व्यवस्थापन, मदिरा व्यवस्थापन गर्न छलफल गरिएको हो ।

उपमहानगरपालिकाले यसअघि नै यहाँको फुटपाथ हटाउन शुरु गरेको भए पनि प्रभावकारी हुन नसकेको भन्दै थप प्रभावकारी बनाउन छलफलमार्फत निष्कर्ष निकालेर प्रभावकारी बनाइने तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले बताए । हामीले उपमहानगरपालिकालाई स्मार्ट बनाउने अभियानअन्तर्गत बजारलाई व्यवस्थित बनाउने अभियान थालेका छौँ”, उनले भने, “यसअघि नै हामीले फुटपाथ हटाउन थालेका थियौँ, अब यसलाई थप प्रभावकारी बनाउनका लागि छलफल गरेका हौँ ।”

अहिले बजारमा सडक मिचेर व्यवसाय गर्दा दुर्घटनाको जोखिम बढ्नुका साथै बजार पनि कुरुप भएको भन्दै यसलाई व्यवस्थान गर्न आफूहरु लागिपरेको बताए ।

तुलसीपुर उद्योग वाणिज्य सङ्घका महासचिव रुपबहादुर खत्रीले बजारलाई सुन्दर बनाउनका लागि फुटपाथ हटाउन आवश्यक रहेको भन्दै यसमा उद्योग वाणिज्य सङ्घले सहयोग गर्नेसमेत बताए । “फुटपाथ तुलसीपुरका लागि ठूलो समस्या बनेको छ, यसले यहाँका वैधानिकरुपमा व्यवसायी गर्ने व्यवसायीलाई पनि समस्यामा पारेको छ भने बजार पनि कुरुप बनेको छ”, उनले भने, “त्यसैले सुन्दर उपमहानगर बनाउन उद्योग वाणिज्य सङ्घ हातेमालो गर्न तयार छ ।”

सहकारीकर्मी सङ्गीत बस्यालले तुलसीपुर बजारलाई हर्न निषेध घोषणा गरिएको छ, तर फुटपाथले गर्दा हर्न निषेध अभियानलाई नै चुनौती बनाएको बताए ।

मदिरा व्यवस्थापन अभियान

उपमहानगरपालिकाले मदिरा व्यवस्थापन गर्ने अभियान पनि शुरु गरेको छ । अहिले पसल किराना पसलको अनुमति लिएर मदिरा पसल गर्नेको सङ्ख्या धेरै रहेको र यसले राजश्व सङ्कलनमा निकै ठूलो असर पारेको उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले बताए । उनका अनुसार अब त्यस्ता पसललाई पनि मापदण्डमा ल्याएर कर सङ्कलनमा वृद्धि गरिनेछ ।

साथै कानूनी दायरामा ल्याएर यसलाई व्यवस्थित गर्नेसमेत उनले बताए । तर मदिरा व्यवस्थापन गर्ने अभियान लामो समयसम्म सञ्चालन भए पनि प्रभावकारी हुन नसकेको तुलसीपुरका होटेल व्यवसायी टेकराम खड्काले बताए । उनले भने, “अभियान धेरै पहिलादेखि शुरु भयो, तर त्यही अभियान अहिले पनि चलिरहेको छ, समस्या समाधान अलिकति पनि भएको छैन ।”

नियमितरुपमा सम्बन्धित निकायले अनुगमन गरेमा मदिरा व्यवस्थापनको समस्या न्यूनीकरण हुने उनको भनाइ छ । “एकदिन अनुगमन हुन्छ, त्यसपछि एक महीनासम्म कुनै अनुगमन हँदैन”, उनले भने, “यसले कुनै प्रभाव पार्दैन ।”

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक विक्रम कुँवरले बिहान १२ बजेभन्दा अगाडि मदिरा बिक्री गरेको पाइए कारवाही गर्ने बताए । उनले बिहान १२ बजेदेखि रातको १२ बजेसम्म मात्रै मदिरा बिक्रीवितरण गर्न निर्देशन दिए । अन्यथा कानूनी दायरामा ल्याउनेसमेत चेतावनी दिए ।

सडक मिचेर बनाएका संरचना हटायो

तुलसीपुर उपमहानगरपालिकाले यसअघि सडक मिचेर बनाएका संरचना भत्काएको थियो । यसले तुलसीपुर बजारको सुन्दरता बढाएको छ भने दुर्घटनाको जोखिम पनि कम भएको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख पाण्डेले बताए । स्मार्ट सिटी बनाउने अवधारणाअनुसार बजारमा सडक मिचेर बनाएका भ¥याङ, तारबार लगायतका सामग्री हटाइएको उनको भनाइ छ । यसले बजारलाई थप व्यवस्थित बनाएको प्रमुख पाण्डेले बताए । रासस

प्रकाशित मिति : ३० श्रावण २०७६, बिहिबार ००:००