१ जेष्ठ २०८१, मंगलबार | Wed May 15 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अरुण गाउँपालिकाः पूर्ण संस्थागत प्रसूति वडा घोषित




भोजपुर । जिल्लाको पूर्वी क्षेत्रमा रहेको अरुण गाउँपालिका ५ स्थित याकुलाई पूर्ण संस्थागत प्रसूति वडा घोषणा गरिएको छ । वडा क्षेत्रभित्रका सबै गर्भवती महिलाले स्वास्थ्य संस्थामै आएर सुरक्षित प्रसूति गराएकाले एक कार्यक्रमको आयोजना गरी वडालाई पूर्ण संस्थागत प्रसूति वडा घोषणा गरिएको हो ।

साविकको याकु गाविस रहेको यस वडाको सामुदायिक भवनमा आयोजित कार्यक्रमबीच पूर्वसंविधानसभाका सदस्य लोकमणि ढकालले प्रदेश नं १ मै पहिलो पूर्ण संस्थागत प्रसूति वडा घोषणा गरेका हुन् । आर्थिक वर्ष २०७५÷७६ मा ६१ महिलाले स्वास्थ्य संस्थामा आएर सुत्केरी गराएको याकु स्वास्थ्यचौकीका प्रमुख भोजराज भण्डारीले बताए । त्यसमा ५ नं वडाभित्रका मात्र ३७ गर्भवतीमध्ये ३६ जनाले यही स्वास्थ्य संस्था र बाँकी एक जनाले धनकुटा अस्पतालमा गएर प्रसूति गराएका थिए ।

कार्यक्रममा अरुण गाउँपालिका प्रमुख गजेन्द्रबहादुर कार्की, उपप्रमुख बिनिता ढकाल, महिला स्वास्थ्य स्वंसेविका लगायत सरोकारवालाको उपस्थिति थियो । प्रमुख कार्कीले गाउँपालिका क्षेत्रका महिला तथा बच्चाको स्वास्थ्य सुरक्षाका लागि आफूहरुले विशेष योजना बनाएर काम गर्ने बताए । गाउँपालिकाले आफ्नो क्षेत्रमा सुत्केरीलाई कुखुराको भाले, चामल, ज्वानो, केही रकमसहितको प्याकेज पनि दिँदै आएको छ ।

दक्ष जनशक्ति, भौतिक लगायतका उपचारका चाहिने सामग्री उपलब्ध भएका कारण विगत १० वर्षदेखि भोजपुरको याकुस्थित स्वास्थ्य संस्था जिल्लामै नमूना स्वास्थ्य संस्थाको रूपमा परिचित छ । यसले पटक–पटक जनताको स्वास्थ्य उपचारमा राम्रो काम गरेको भन्दै पुरस्कारसमेत पाएको छ । रासस

प्रकाशित मिति : २६ श्रावण २०७६, आइतबार ००:००