बेझाड । निस्दी गाउँपालिका पाल्पाले कुनै पनि योजना तथा कार्यक्रम सञ्चालनका लागि उपभोक्ताको १० प्रतिशत रकम गाउँपालिकाको खातामा जम्मा गर्नुपर्ने निर्णय गरेको छ ।
गत आवमा उपभोक्ता समितिको खातामा जम्मा गर्नुपर्ने भए पनि जम्मा नगरिएपछि अबका दिनमा खातामा १० प्रतिशत रकम जम्मा गरेर मात्र योजना तथा कार्यक्रम सञ्चालन गरिने भएको छ ।
गाउँपालिका–६ को गत आव २०७५÷७६ को योजना तथा कार्यक्रमको वार्षिक समीक्षामा गाउँपालिका अध्यक्ष मुक्तबहादुर सारुले कामलाई पारदर्शी, छिटोछरितो, गुणस्तरीय बनाउन उपभोक्ताको रकम गाउँपालिकाको खातामा जम्मा गरेर मात्र काम गर्ने बताए । कृषक पाठशालामा कृषकको चासो कम रहेको बताउँदै आधुनिक कृषि प्रणालीमा स्थानीय सरकारको जोड रहेको उनले बताए ।
वडाध्यक्ष मेखबहादुर सुनारीले आफ्नो गाउँ आफैँ बनाउनका लागि उपभोक्ता समितिले तत्परता देखाउनुपर्ने बताउँदै बजेटको सदुपयोग गरी योजना तथा कार्यक्रम सम्पादन गर्न सहयोग गर्नुपर्ने बताए । वडाले आव ०७५÷७६ मा ५२ वटा योजना तथा कार्यक्रममा एक करोड ३६ लाख बराबरको निर्माण कार्य सम्पन्न गरेको छ । रासस
प्रतिक्रिया