११ श्रावण २०८१, शुक्रबार | Fri Jul 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एकल महिलाको उपचार खर्च गाउँपालिकाले व्यहोर्ने



ओखलढुङ्गाको सुनकोशी गाउँपालिकाले एकल महिलाको उपचार खर्च व्यहोर्ने भएको छ । सुनकोशी गाउँपालिकाको चालू आर्थिक वर्षको बजेटले एकल महिलालाई उपचार खर्च दिने घोषणा गरेको हो ।

५० वर्ष उमेर पुग्दासम्म विवाह नगरेका र विवाह गरेका तर ३५ वर्ष नपुग्दै श्रीमान् गुमाएर एकल बनेका महिलालाई औषधि उपचार गर्ने गाउँपालिका अध्यक्ष रुद्रप्रसाद अधिकारीले जानकारी दिए ।

साहाराविहीन भएकाहरुलाई समेट्ने लक्ष्यअनुरुप एकल महिला लक्षित कार्यक्रम अधिकारीले बताए ।

“अधिकांश एकल महिलाको समाजमा बिजोग भएको स्थिति देखेको छु,” अधिकारीले भने, “वर्षमा ५ हजार मात्रै हामीले दिँदा पनि सामान्य रोगको उपचार गर्न पुग्ने रहेछ । एकल महिलालाई मात्रै होइन जटिल प्रकृतिका रोग लागेकाहरुलाई थप सहयोग गर्नेछौं ।”

एकल महिलाले फेरि विवाह गरेमा उनले उपचार खर्च पाउने छैनन् । सुनकोशीले गत वर्षदेखि नै ज्येष्ठ नागरिक, दलित र अपाङ्गता भएका व्यक्तिलाई लक्षित कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

एकल महिला खुशी

उपचार खर्च दिने गाउँपालिकाको नीतिले सुनकोशीका एकल महिला खुशी भएका छन् । गाउँघरमा एकल महिलालाई हेर्ने दृष्टिकोण राम्रो नभएको अवस्थामा स्थानीय सरकारको यो कदम स्वागतयोग्य रहेको बलखुकी ३२ वर्षीया अरुणा राईले बताउनुभयो ।

“भोट माग्न आउँदा तपाईंहरुका लागि पनि केही गर्छौं भन्थे, राम्रो कामको थालनी भएकोमा खुसी छौँ,” राईले भनिन् । सामान्य रोग लाग्दा पनि खर्च अभावका कारण घरैमा बस्नुपर्ने बाध्यता हट्ने उनले बताइन् ।

एकल महिलाका क्षेत्रमा क्रियाशील स्थानीय अगुवा मुना श्रेष्ठले स्थानीय सरकारको यो नीतिले एकल महिलालाई समाजमा स्थापित गराउन मद्दत पुग्ने बताइन् ।

एकल महिलालाई उपचार खर्च दिने नीति लिएसँगै वडामार्फत एकल महिलाको तथ्याङ्क र अवस्थाका बारेमा विवरण सङ्कलनको काम थालिएको छ । रासस

प्रकाशित मिति : १२ श्रावण २०७६, आइतबार ००:००