५ श्रावण २०८१, शनिबार | Sun Jul 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महिलामैत्री बस सञ्चालनको तयारीमा उपमहानगरपालिका



राँझा । नेपालगञ्ज उपमहानगरपालिकाले महिलामैत्री बस सञ्चालनको तयारी गरेको छ । करीब साढे तीन करोडमा साता बस खरीद गरी सञ्चालनका लागि कार्यविधि निर्माणकार्य भइरहेको उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलले जानकारी दिए ।

उनका अनुसार, उपमहानगरपालिकाले ई–बिडिङमार्फत साना तीन बस एक करोड २९ लाख ७४ हजार ७०० र ठूला चार बस दुई करोड १५ लाख ७६ हजारमा खरीद गरेको हो । खरीद गरिएका बस एक महीनादेखि उपमहानगरपालिकामै थन्किएका छन् । उपमहानगरलाई अन्य नगर तथा गाउँपालिकासँग जोड्ने गरी महिलामैत्री बस सञ्चालन गरिने उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले जानकारी दिए ।

बस सेवा सञ्चालनका लागि उपमहानगरपालिकाले कार्यविधि निर्माणसँगै चालक छनोट प्रक्रिया पनि अघि बढाएको छ । मङ्गलबार चालक छनोटका लागि प्रयोगात्मक परीक्षा लिइएको रिजालले जानकारी दिए । चालक छनोट प्रक्रियालाई पारदर्शी र निष्पक्ष बनाउन यातायात व्यवस्था कार्यलय, ट्राफिक प्रहरी कार्यालय, यान्त्रिक कार्यालयको सहयोगमा प्रयोगात्मक परीक्षा ट्रायल लिइएको उनले बताए ।

यातायात व्यवस्था कार्यालयबाट सवारी चालक अनुमतिपत्र लिएको भए पनि भर्ना प्रक्रियालाई पारदर्शी बनाउन पुनः ट्रायल लिइएको प्रमुख प्रशासकीय अधिकृत प्याकुरेलले उल्लेख गरे । अहिले नेपालगञ्जदेखि कोहलपुर, खजुरा, जानकी, डुडुवा लगायतका स्थानीय तहमा सार्वजनिक बस सञ्चालन हुँदै आएका छन् । उपमहानगरपालिकाले पनि यही रुटमा बस सञ्चालनको तयारी गरेको छ । रासस

प्रकाशित मिति : ८ श्रावण २०७६, बुधबार ००:००