११ श्रावण २०८१, शुक्रबार | Fri Jul 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जीर्ण बन्दै कर्णाली पुल



लम्की । कैलालीको लम्की चुहा नगरपालिका ३ चिसापानीस्थित पूर्वपश्चिम राजमार्गबाट सुदूरपश्चिमलाई जोड्ने कर्णाली नदीको पुल जीर्ण बन्दै गएको छ ।

पर्यटकीय हिसाबले समेत महत्वपूर्ण मानिएको कर्णाली पुल नियमित मर्मत सम्भार तथा रेखदेखको अभावमा जीर्ण बन्दै गएको हो । एउटा मात्रै पिल्लरमा निर्मित केबुल तारयुक्त पाँच सय मिटर लम्बाई भएको नमूना पुल भएका कारण पनि कर्णाली पुल आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि आकर्षक बन्दै आएको छ ।

२०४९ सालमा निर्माण भएको यो पुल निर्माण भएपश्चात् अहिलेसम्म मर्मतसम्भार तथा रङरोगन हुन सकेको छैन । “पुलका कतिपय ‘नट बोल्टहरु’ खुल्दै गएका (हल्लिएका) छन् भने ‘सपोर्टिङ’ केबुल तार चुँडिएका छन्”, स्थानीयवासी मोहन खाँडले भने, “मर्मतसम्भार तथा रङरोगनको अभावमा पुलका विभिन्न भागमा खिया लागेको छ ।”

तत्कालीन माओवादी द्वन्द्वका क्रममा चिसापानीमा लडाकू र सेनाबीच भीडन्त हुँदा पुलका विभिन्न भागमा गोली लागेर क्षति भएको थियो । गोली लागेर प्वाल परेका निशान अहिले पनि देख्न सकिन्छ । जसका कारण पुल कमजोर बन्दै गएको छ ।

पुलको पूर्वतर्फका तीनवटा तार हावा चल्दा अस्वभाविक रुपमा हल्लिने गरेको लम्की उद्योग वाणिज्य सङ्घका महासचिव लव शाहीले जानकारी दिए । उनले पुलको ब्यालेन्स हेर्नका लागि तारमा जोडिएका ‘बल’ समेत खस्न थालेको बताए । “नियमित मर्मतसम्भार र रङरोगन नहुँदा पर्यटकीय महत्व बोकेको कर्णाली पुल जीर्ण बन्दै गइरहेको छ”, महासचिव शाहीले भने, “समयमै मर्मतसम्भार हुन नसके कुनै दिन ठूलो दुर्घटना हुन बेर छैन ।”

चिसापानीस्थित कर्णाली पुल हेर्नकै लागि यहाँ आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । नेपालका विभिन्न जिल्लासहित भारतको उत्तर प्रदेश र उत्तराखण्डका विभिन्न शहरबाट समेत भारतीय नागरिक चिसापानी पुल हेर्न आउने गर्दछन् । उनीहरु एशियाकै नमूना पुल हेर्नका लागि स–परिवार चिसापानी आउने गरेको बताउछन् । चिसापानी आउने कर्णाली पुलमा फोटो खिच्न, कर्णालीको चिसो हावामा रमाउन र कर्णालीका माछाको स्वाद लिनकै लागि यहाँ आउने गर्छन् । “चिसापानी आउनेहरु कर्णाली पुलमा एउटा तस्वीर नखिची फर्कन मान्दैनन्”, स्थानीयवासी नेत्र जैसीले भने, “यहाँ आउने कर्णालीको माछा खाएर मात्र जाने चलन छ ।” सुदूरपश्चिम प्रदेशबाट पूर्व जाने लामो तथा छोटो दूरीका सवारीसाधन होस् या पर्यटक चिसापानीमा एक छाक खाना खाने योजना बनाउँछन् । जसका कारण चिसापानीमा होटल व्यवसाय राम्रो चलेको जैसीले बताए ।

सरकारले चिसापानीलाई पर्यटकीय क्षेत्रसमेत घोषणा गरेको छ तर पछिल्लो समयमा पुल जीर्ण बनेपछि आकर्षण हराउँदै गएको स्थानीय होटल व्यवसायी नवीन भुजेलले बताए । भुजेलले पुलको सुन्दरता हराएसँगै चिसापानीको महत्वसमेत सङ्कटमा पर्ने खतरा रहेको बताए । रासस

प्रकाशित मिति : १ श्रावण २०७६, बुधबार ००:००