१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाढी पहिरो अपडेटः ४८ को मृत्यु, ३५ बेपत्ता, २५ घाइते



काठमाडौं । अबिरल वर्षापछि आएको बाढी पहिरो र डुवानका कारण अहिलेसम्म ४८ जनाले ज्यान गुमाएका छन् ।

प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक रमेश थापाले दिएको जानकारी अनुसार बाढी पहिरोमा परी २१ महिला र २७ पुरुषको ज्यान गएको छ । आज बिहानसम्मको विवरण अनुसार २५ जना घाइते भएकाले उनीहरुको सम्बन्धित स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने ३५ जना बेपत्ता भएका छन् । अहिलेसम्म एक हजार १०४ जनाको उद्धार गरिएको छ ।

प्रहरीले दिएको जानकारी अनुसार प्रदेश नं १ मा १७, प्रदेश नं २ मा सात, प्रदेश नं ३ मा १२, प्रदेश नं– ५ र ६ मा दुई­दुई र उपत्यकाको दुई जिल्लामा आठ गरी ४८ जनाको ज्यान गएको हो ।

उपत्यकाको काठमाडौंमा तीन र ललितपुरमा पाँच जनाले ज्यान गुमाएका छन् । प्रदेश नं १ अन्तर्गत भोजपुरमा पाँच, ओखलढुङ्गामा चार, खोटाङमा तीन, झापामा दुई, सुनसरी, उदयपुर, इलाममा एक­एक जनाको ज्यान गएको छ ।

प्रदेश नं २ अन्तर्गत धनुषा र बारामा दुई­दुई तथा पर्सा, रौतहट, सिरहामा एक­एक गरी सात जनाको मृत्यु भएको छ । प्रदेश न ३ अन्तर्गत काभ्रे, मकवानपुरमा तीन­तीन, सिन्धुली र धादिङमा दुई­दुई तथा रामेछाप र चितवनमा एक­एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै प्रदेश नं ५ को पाल्पा र दाङमा एक­एक तथा प्रदेश नं ६ को डोल्पामा दुई जनाको मृत्यु भएको छ ।

बेपत्ता हुनेमा काठमाडौं र ललितपुरमा एक­एक जना, प्रदेश नं १ को पाँचथरमा, झापा, उदयपुर र सुनसरीमा एक­एक तथा मोरङ र इलाममा तीन­तीन जना छन् । प्रदेश नं २ को पर्सा, रौतहट, महोत्तरी, सिरहा र धनुषामा एक­एक जना बेपत्ता छन् । प्रदेश नं ३ को सिन्धुलीमा ६ जना र धादिङमा एकजना बेपत्ता छन् ।

यस्तै प्रदेश नं ६ को डोल्पास्थित कासिल खोलाले बगाएर ११ जना बेपत्ता रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । घाइते हुनेमा उपत्यकामा पाँच, प्रदेश नं १ मा आठ, प्रदेश नं ३ मा १२ जना रहेका छन् । सुरक्षाकर्मीले उपत्यकाबाट १९४ जना, प्रदेश नं १ बाट १२ जना, प्रदेश नं २ बाट ८२७ जना, प्रदेश नं ३ बाट ७१ जनाको उद्धार गरेको जनाएको छ ।

अहिले पनि उद्धारकार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ । रासस

प्रकाशित मिति : २९ असार २०७६, आइतबार ००:००