१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पहिराको उच्च जोखिममा रहेका पाँच परिवारले घर छाडे



बनेपा । अविरल वर्षाको कारण काभ्रेपलाञ्चोक जिल्लाको चौरी देउराली गाउँपालिका ४ र ५ मा पहिरो गएपछि त्यहाँका १५ घरपरिवार उच्च जोखिममा रहेका छन् ।

वडा नं ५ का वडाध्यक्ष राजकुमार गौतमका अनुसार वडा नं ४ मजुवाका १० घरपरिवार र वडा नं ५ का पाँच घरपरिवार पहिरोको जोखिममा परेका छन् । ‘वडा नं ५ पोखरीचौरीमा बस्ती तलबाट पहिरो गएका कारण ती घर निकै जोखिममा परेका छन् ।’ वडाध्यक्ष गौतमले भने, “पाँच घरपरिवारमध्ये विनोदप्रसाद चौलागार्इं र नवराज चौलागार्इंले घर छोडेर अन्तै छाप्रोमा गएर बसिरहनुभएको छ ।” अन्य तीन घरपरिवार पनि सुरक्षित स्थानमा सर्नैपर्नै अवस्थामा रहेको उनले बताए ।

उता वडा नं ४ मजुवाका दीपक गौतम, धनप्रसाद तिमल्सिना र रामप्रसाद चौलागार्इंको घरमाथिबाट आएको पहिरोले पुरिएर विस्थापित भइसकेको जनाइएको छ । ‘उहाँहरुको घरमाथिबाट झरेको पहिरोले पुरिएको छ । अन्य सात जनाको पनि घरमाथि र तलबाट पहिरो झरिरहेका कारण उच्च जोखिममा परेको छ ।’ उनले भने ।

गाउँपालिका अध्यक्ष दिननाथ गौतम, उपाध्यक्ष तारा चौलागार्इं र वडा नं ५ का वडाध्यक्ष राजकुमार गौतमले जोखिममा परेका र विस्थापित परिवारको अवस्था बुझ्न स्थलगत अनुगमन गरी बाँकी घरपरिवारलाई पनि बेलैमा सुरक्षित स्थानमा सर्न आग्रह गरेका छन् ।

त्यस्तै वडा नं ४ मा रहेको कुशल कृषि उत्पादक समूहको कार्यालय र सोही समूहद्वारा सञ्चालित बाख्रा फार्म पहिरोको जोखिममा परेपछि सुरक्षित स्थानतर्फ सरिसकेको वडाध्यक्ष गौतमले बताए । रासस

प्रकाशित मिति : २९ असार २०७६, आइतबार ००:००