७ कार्तिक २०८१, बुधबार | Wed Oct 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बन्दीपुर गाउँपालिकाद्वारा अतिविपन्नलाई सौर्य उपकरण वितरण



असार २५, दमौली । तनहुँको बन्दीपुर गाउँपालिकाले अतिविपन्न घरधुरीलाई सौर्य उपकरण वितरण गरेको छ । गाउँपालिकाले बिजुली नबलेको र बिजुली जडानका लागि मिटर राख्न सक्ने क्षमता नभएका घरधुरी छनोट गरी २० घरधुरीलाई सौर्य उपकरण (सोलार) वितरण गरेको हो ।

अन्धकारमा रहँदै आएका सर्वसाधारणको घर उज्ज्यालो बनाउने उद्देश्यसहित विपन्न घरधुरीलाई सौर्य उपकरण वितरण गरिएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए । थापाका अनुसार बन्दीपुर गाउँपालिका–१, २, ३, ६ लगायतका विपन्न घरधुरीलाई सौर्य उपकरण वितरण गरिएको छ ।

वितरण गरिएको सौर्य उपकरणको मूल्य प्रतिसोलार २१ हजार छ । उक्त सोलारबाट चारवटासम्म बत्ती बाल्न पुग्छ । “उज्ज्यालो बन्दीपुर बनाउने लक्ष्यसहित बिजुली नपुगेका ठाउँहरुमा विद्युतीकरण गर्ने लक्ष्य गाउँपालिकाको हो”, थापाले भने ।

गाउँपालिकाले सोलार प्रदान गरेपछि स्थानीयवासी हर्षित भएका छन् । बन्दीपुर गाउँपालिका–१ का सन्तबहादुर चेपाङ, शान्ति चेपाङ, दिलकुमार भुजेल, नीरमाया प्रजा, प्रेमबहादुर रिलामी मगर लगायतले सोलार पाएपछि घरमा बत्ती बाल्न सहयोग पुग्ने भन्दै खुशी व्यक्त गरे ।

अहिलेसम्म टुकीको भरमा बत्ती बाल्दै आए पनि सौर्य उपकरण पाएपछि भने घर नै उज्यालो हुने भएको स्थानीयवासी शान्ति चेपाङले बताइन् । उनले भनिन्, “बिजुली बाल्न मिटर जडान गर्न सक्ने अवस्था थिएन, गाउँपालिकाले सौर्य उपकरण दियो खुशी लागेको छ ।” रासस

प्रकाशित मिति : २५ असार २०७६, बुधबार ००:००