१२ माघ २०८२, आइतबार | Sun Jan 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खानेपानी अभावका कारण बसाइसराइ गर्नेको सङ्ख्या बढ्दै



धनबहादुर भण्डारी

असार २३, डडेल्धुरा । अजयमेरु गाउँपालिकामा खानेपानीको अभाव शुरु भएको छ । खानेपानीको अभाव हुँदा दैनिक जीवनयापन नै अस्तव्यस्त भएपछि गाउँबाट तराइतर्फ वा खोला नजिकमा बसाइसराइ गर्नेको सङ्ख्या बढ्दै गएको स्थानीयवासीको गुनासो छ ।

अजयमेरु ५ र ६ का अधिकांश गाउँ र बस्तीमा खानेपानीको चरम अभाव हुन थालेको छ । गाउँपालिका अन्तर्गतका गाल, मटेला, भण्डारी गाउँ, झिङनी, राजुल ओडिगाउँ लगायतका गाउँमा खानेपानीको चर्को अभाव हुन थालेको हो । पानी नहुँदा राति २ बजे उठेर खोलामा गएर पानी ल्याउनुपर्ने बाध्यता रहेको स्थानीयवासी हरिलाल रावतले बताए । पानी अभावकै कारण पढेलेखेका युवाहरुको गाउँप्रतिको मोह पनि मरेर गइरहेको उनको भनाइ छ ।

खानेपानीको जोहो गर्दागर्दै अरु काम गर्न नपाइने भएकाले सर्वसाधारण दिक्क भएका छन् । बिना अध्ययन सडक निर्माण हुनु, पानीको मुहानको संरक्षणमा चासो नदेखाउनु तथा खानेपानीको समस्याप्रति सरोकारवाला निकायको बेवास्ताका कारण हिउँदमा वर्षौँदेखि देखिइने यो समस्या ज्यूँका त्यूँ रहेको गाल मटेलावासी बताउछन् ।

खानेपानीको अभाव भएपछि वर्षेनी गाउँबाट तराईतर्फ बसाइ सर्नेको सङ्ख्या पनि बढ्न थालेको छ । कति घरपरिवारले दोहारो बस्ती बस्ने गरेको स्थानीय डम्बरसिंह पडालले बताए । पानीकै कारण हिउँदमा गाउँलेहरु खोला किनारमा बास बस्ने गरेको पडालले बताए ।

शुद्ध खानेपानीको आपूर्तिका विषयमा गाउँमा बेलाबेलामा कार्यक्रम सञ्चालन हुने गरेका छन् । तर यसको व्यवस्थापन अहिलेसम्म हुन सकेको छैन । पानीको समस्याका कारण महिलालाई खाना पकाउने, भाँडा माझ्ने, गाईवस्तुलाई खुवाउने पानी कसरी जोहो गर्ने भन्ने चिन्ताले दिनभर पिरोलिए स्थानीय पोषण सहजकर्ता मनिषा पालले वताइन् ।

खानेपानी अभावकै कारण अजयमेरु गाउँपालिका ५ र ६ मा आर्थिक वर्ष २०७४÷७५ मा ४४ पुरुष र ३२ महिला गरी कूल ७६ जनाले थातथलो छोडेर गएको तथ्याङ्क गाउँपालिकासँग रहेको वडासचिव केशव भट्टको भनाइ छ ।

अजयमेरु ५ का ५५९ घरपरिवार र वडा नं ६ का ४७८ घरधुरी खानेपानीको समस्यामा रहेका छन् । पानी कै समस्याका कारण कृषि उपजहरुको उत्पादन भरपर्दो नरहेको र पढेलेखेका युवाहरु अन्यन्त्र जानुपर्ने बाध्यता रहेको सचिव भट्टको भनाइ छ ।

पानीका मूलहरु नहुँदा समस्या झन बल्झिएको हो । अजयमेरु ५ मा एक मात्र पानीको नाउलो (कुवा) छ । त्यहाँ वर्षा होस् या हिउँद, जहिले पानी लिन आउनेको घुइँचो हुन्छ । बिहान उठ्नेवित्तिकै महिलाहरू खानेपानीका लागि तछाड–मछाड गरिरहेका देखिन्छन् । “पालो कुर्दाकुर्दै घरको अरु काम गर्न समय नै हुँदैन”, स्थानीय लालबहादुर खड्काले भने, “धारो छैन, कुवाको पानी सबैले भरेर लिँदा धमिलो हुन्छ ।” यहाँ जहिल्यै खानेपानी अभाव हुने गरेको छ । सुक्खा खडेरी, मौसम परिवर्तनले गर्दा मुहान सुकेपछि खानेपानी अभाव भएको हो । सदियौँदेखिका खोल्साखोल्सी र जरुवा मुहान सुक्दै गएपछि पानी अभाव भएको स्थानीयवासी बताउछन् ।

“खानेपानी अभावले हाम्रो दैनिकी पानी जोहो गर्नमै बित्छ । घरायसी काममा लादिनुपर्ने महिलाले खानेपानी जोहो गर्न दिनरात कष्ट व्यहोर्ने गर्छ”, स्थानीयवासी खड्काले भने, “हरेक दिन पानीकै चिन्ता हुन्छ ।”

गाउँवस्ती नजिक मूल नहुँदा समस्या भएको र अब चाँडै नै सूर्नयावाट लिफ्ट सिँचाइका लागि डिपिआर तयार गरेर खानेपानी ल्याउने योजना रहेको अजयमेरु गाउँपालिकाका उपाध्यक्ष कलावती भाणले जानकारी दिए ।

नुहाउन वा खानेपानी जोहो गर्नका लागि ३ घण्टा हिँडेर खोलामा जानुपर्ने बाध्यता छ । पानीको समस्याका कारण गाउँभन्दा तीन घण्टाको पैदल दूरी खालो किनारमा वस्नु परेको छ । जसले गर्दा छोराछोरीको पढाइदिनचर्यामा प्रभाव परिरहेको गालगाउँका स्थानीयवासी जयराजसिंह खड्काले बताए । पानीको मूल संरक्षणका लागि गाउँपालिकासँग कुनै ठोस योजना तथा नीति नरहेको उनले बताए । तर अजयमेरु ५ र ६ मा देखिएको खानेपानी समस्या समाधानका लागि डिपवोरिङ वा लिफ्ट सिँचाइ योजनाका लागि सम्भावना अध्ययन भइरहेको सो गाउँपालिकाले जनाएको छ । रासस

प्रकाशित मिति : २३ असार २०७६, सोमबार ००:००