१७ माघ २०८२, शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हेटौँडामा २५ मिटर सडक विस्तार गर्ने सडक विभागको निर्णय



असार २३, हेटौँडा । हेटौँडामा २५ मिटर सडक विस्तार गर्ने सडक विभागको निर्णयपछि यसक्षेत्रमा सबैले आ–आफ्नो धारणा राख्न थालेका छन् । सडक विभागले गत असार ७ गते सडक सीमाभित्रको संरचना हटाउन भन्दै सूचना निकालेपछि यस विषयमा आम हेटौँडावासीको ध्यान खिचिएको छ ।

डिभिजन सडक कार्यालय मकवानपुरले पूर्व–पश्चिम राजमार्ग र त्रिभुवन राजपथअन्तर्गतको हेटौँडा बजार क्षेत्रभित्र पर्ने सडकको दायाँबायाँ २५ २५ मिटरभित्र पर्ने घर, टहरा, मन्दिर लगायतका संरचना हटाउन सूचना जारी गरेसँगै सडक विस्तारको अभियानले फेरि गति लिने भएको हो ।

यसै सन्दर्भमा प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी छिन्तु ले पूर्व–पश्चिम राजमार्ग र त्रिभुवन राजपथअन्तर्गतको सडकको दायाँबायाँ २५ २५ मिटर सडक विस्तारको काम स्वागतयोग्य भएको बताएका छन् ।

प्रदेशको राजधानीसमेत रहेको हेटौँडामा सडक फराकिलो नहुँदा निकै समस्या देखिएको भन्दै सडक विस्तार गर्ने कामलाई सबैले सहयोग गर्नुपर्ने पुलामीले बताए ।

हेटौँडा बजार क्षेत्रमा पनि नियमअनुसार नै सडक विस्तार हुनुपर्ने उनको धारणा छ । राजमार्गको अन्य स्थानमा २५ मिटर सडक विस्तार गरेर हेटौँडा बजार क्षेत्रमा मात्रै १६ मिटर विस्तार गर्दा नियमअनुसार नहुने भएकाले सबैतिर एकै तरिकाले विकास गर्नुपर्नेमा उनले जोड दिए ।

राज्यले आवश्यक पहिचान गरी सुकुम्बासी नै हुने अवस्थाका घरधनी वा व्यवसायीको हकमा भने सोच्नुपर्ने उनको भनाइ छ । डिभिजन सडक कार्यालय हेटौँडाका सूचना अधिकारी जयराम अधिकारीले सडक विस्तार अब निश्चित भएको प्रतिक्रिया दिए ।

उनले सडक विस्तार गरिने क्षेत्रको क्षतिको लगत सङ्कलनको कामसमेत सकिनै लागेको जानकारी दिए । यद्यपि अदालतको स्टे अर्डर भएकाको घर भने नभत्किँने भएको छ । सडक विस्तारको काम राप्ती रोड वा बुद्ध चोकबाट शुरु हुने उनको भनाइ छ ।

यता सडक विस्तारका विषयमा उद्योगी व्यवसायीको छाता सङ्गठन मकवानपुर उद्योग वाणिज्य सङ्घ भने असन्तुष्ट देखिएको छ । सङ्घका वरिष्ठ उपाध्यक्ष माधव न्यौपानेले सरकारले उचित मुआब्जाको व्यवस्था गरेरमात्रै सो काम गर्नुपर्ने धारणा राखे ।

केही समयअघि सडक विस्तारको काम शुरु भइसकेको थियो । तत्कालीन क्षेत्रीय प्रशासक विनोद केसीले सडक भत्काउन शुरु गरेका थिए । केही घर पनि भत्काइएको थियो । उनको राजनीतिक दबाबमा सरुवा भएपछि यो विषय अन्योलमा परेको थियो ।

माछामासु बिक्री वितरण बन्द

मूल्य बढाउन नपाएपछि मकवानपुरका माछामासु व्यवसायीले आज माछामासु बिक्री ठप्प गरेका छन् । बढाएको मूल्यमा बिक्री गर्न प्रशासनले रोक लगाएको भन्दै व्यवसायीले माछामासु बिक्री ठप्प गरेका हुन् ।

गत जेठ ३० गते हेटौँडामा बसेको व्यवसायीको संयुक्त बैठकले असार १ गतेदेखि मासुमा प्रतिकिलो १०० रुपैयाँ वृद्धि गरेकामा १७ दिनपछि जिल्ला प्रशासन कार्यालय र उपभोक्ता मञ्चले मूल्यवृद्धिप्रति आक्षेप लगाएकाले सोको विरोधमा माछामासु बिक्री ठप्प पारिएको माछामासु व्यवसायी सङ्घ मकवानपुरका अध्यक्ष शान्तकी खड्गीले जानकारी दिइन् । उनले छिमेकी जिल्लासहित काठमाडौंमा खसीको मासु प्रतिकिलो एक हजारदेखि एक हजार २०० सम्म रहेकामा मकवानपुरमा प्रतिकिलो १०० बढाएर ९०० पु¥याएको बताइन् । रासस

प्रकाशित मिति : २३ असार २०७६, सोमबार ००:००