Logo

बिदुर नगरपालिकामा बालश्रम न्यूनीकरण अभियान



असार २२, नुवाकोट । विदुर नगरपालिकामा बालश्रम न्यूनीकरण अभियान सुरू भएको छ ।

नगरपालिकाको सहयोगमा सामुदायिक विकास केन्द्र नेपाल र जालपा मिडिया सर्भिसको सहजीकरणमा विदुर नगरपालिकामा बालश्रम न्यूनीकरण अभियान शुरु भएको छ । प्रारम्भिक चरणमा नगरपालिकाका वडा नं १, २, ४ र ५ मा सञ्चालन हुने अभियान आगामी वर्ष सबै वडामा विस्तार हुने नगरपालिकाले जनाएको छ ।

अभियानअन्तर्गत शनिबार विदुर नगरपालिका–४ को समन्वयमा बट्टारमा बालश्रम न्यूनीकरणका लागि सरोकारवालाको भूमिका विषयक अन्तक्र्रिया कार्यक्रमको आयोजना गरिसकिएको छ ।

अन्तक्र्रियामा विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले बालश्रम न्यूनीकरणका लागि आफूहरु प्रतिबद्ध रहेको र विदुर नगरक्षेत्रलाई बालश्रमरहित बनाउने उद्देश्यका साथ अभियान सुरू गरिएको बताए ।

कार्यक्रममा नगरपालिकाकी उपप्रमुख गीताकुमारी दाहालले समाज विकासको अवरोधका रुपमा रहेको बालश्रम अन्त्यका लागि सबैभन्दा पहिला परिवार नै जिम्मेवार बन्नुपर्ने बताइन् ।

यस्तै कार्यक्रममा वडा नं ४ का वडाध्यक्ष टलकमान श्रेष्ठले आफ्नो वडालाई बालश्रम न्यूनीकरणका लागि नमुना वडाका रुपमा बिकसित गरिने दाबी गरे । श्रेष्ठले बालश्रमको स्रोत र गन्तब्य बन्ने संभावनाको अन्त्य वडा बनाउने अठोट रहेको पनि दाबी गरे । रासस

प्रतिक्रिया दिनुहोस्