जनक श्रेष्ठ
असार १२, लमजुङ । लमजुङ–मनाङ आवतजावत गर्ने एक मात्र बेँसीशहर चामे सडकखण्डमा पर्ने म्यार्दीखोलामा रहेको मोटरेवल पुल बगाएपछि सवारीसाधनलाई म्यार्दीखोला बाधक बनेको छ । लमजुङ–मनाङको सिमानामा रहेको सो पुल आइतबारको बाढीले बगाउनुका साथै खोलामा गहिरो गल्छी बनाइदिएपछि सवारीसाधन तर्नसक्ने अवस्था छैन ।
पुल निर्माण हुनुअघि हिउँदमा र पानीको बहाव सानो भएको बेलामा खोलाबाटै सवारीसाधन तार्ने गरिएकामा खोलो गहिरिएकाले अहिले सवारीसाधन वारि र पारि नै रहेको बेँसीशहर चामे सडकखण्डका जिप चालक सोमबहादुर मजाकोटीले बताए । गत वर्षबाट निर्माण सम्पन्न गरी सवारीसाधन सञ्चालनमा आएको २४ दशमलव ३८ मिटर र नौ मिटर चौडाइको पुल बगाएको छ । पुल निर्माण हुनुअघि काठेपुलबाट समेत सवारीसाधन गुड्ने गरेको थियो ।
उक्त खोलाबाट सवारीसाधन तर्नसक्ने कुनै सम्भावना नरहेको ट्राफिक प्रहरी कार्यालय लमजुङका प्रहरी जवान लालकिरण शारुले बताए । उनले भने, “लमजुङको बेँसीशहरबाट च्याम्चेसम्म र मनाङको चामेदेखि तालसम्म मात्रै सवारीसधान चल्ने गरेको छ ।”
सवारीसाधन चल्न नसक्दा लमजुङ–मनाङ आवतजावत गर्ने यात्रुहरु मर्कामा परेका छन् । सवारीसाधनबाट च्याम्चेमा ओर्लिएर तालसम्म करीब एक घण्टा पैदल यात्रा गर्न बाध्य हुँदै आएको च्याम्चेका स्थानीयवासीको भनाइ छ । त्यति मात्रै नभई मनाङका स्थानीयवासी बिरामी भएर बेँसीशहर हुँदै काठमाडौं, पोखरा, चितवन लगायतका स्थानमा लैजानुप¥यो भने समेत समस्या हुने देखिन्छ ।
सडक सञ्चालन भएदेखि कहिले काठेपुल त कहिले खोलाबाटै सवारीसाधन तार्दै आएका चालकले यस वर्षको बर्खायामबाट सवारीसाधन पक्की पुलबाट गुडाउन पाउने सपना देखेपनि सपनामै सीमित भएको बेँसीशहर चामे सडकमा सवारी चलाउँदै आएका चालक अमर घिमिरेले गुनासो गरे । उनले भने, “विगतमा पुल नहुँदा हिउँदको समयमा पानी कम हुनेभएकाले सवारीसाधनलाई खोला तर्न केही सहज भए पनि बर्खायाममा हल्का पानी पर्दासमेत सवारीसाधन ठप्प हुन्थ्यो, चालकदेखि यात्रुले विगतमा भोग्नुपरेको यस्तो समस्या फेरि उत्पन्न भएको छ ।”
बेँसीशहर–चामे सडक हेर्ने सडक डिभिजन कार्यालय दमौलीका साइट इन्चार्ज सवइञ्जिनीयर ठाकुरप्रसाद भण्डारीले भने, “तत्काल सवारीसाधन गुड्ने कुनै सम्भावना छैन ।” सो पुलको दुई पिलर र दायाँ भागको आठ मिटर एप्रोजरोड मात्र बाँकी रहेको उनले जानकारी दिए । उनीसहित काठमाडौंबाट आएका हुलाकी स्कूल बेलिब्रिजका डिजाइनर उद्धव रानामगरले बुधबार सो पुलको अनुगमन गरेका थिए । अस्थायीरूपमा पुलको मर्मत गरी सवारी गुड्नसमेत करीब तीन हप्ता लाग्ने इञ्जिनीयर भण्डारीको भनाइ छ । पुलको मर्मत कार्य केही दिनमै अघि बढाउने उनले जानकारी दिए । उनका अनुसार मनाङतर्फको भागमा भन्दा लमजुङतर्फको भागमा बाढीले बढी क्षति पु¥याएको छ ।
हिमालपारिको जिल्ला मनाङलाई सडक सञ्जालमा जोड्ने सरकारको योजनाअनुरुप विसं २०५१ बाट सडक डिभिजन कार्यालय दमौलीले सडक निमार्ण गर्न शुरु गरेको थियो । तर पछि जनयुद्ध र अन्य विभिन्न कारणले तत्कालीन नेपाली सेनाले सो सडक विसं २०५७ बाट बनाउने जिम्मा पायो । तत्कालीन सेनाले शान्ति प्रक्रियापछि मात्रै सडक निमार्णकार्यलाई निरन्तरता दियो । सेनाले बाँदरसमेत लड्ला जस्तो जोखिमपूर्ण भीरलाई ज्यानको बाजी राखेर सडक निमार्ण गर्न सफल भयो ।
सो सडक विसं २०६९ मा निर्माणकार्य सम्पन्न गरी सडक डिभिजन कार्यालय दमौलीलाई हस्तान्तरण गरेसँगै सञ्चालन भएदेखि दैनिक सो सडकखण्डमा ३५ सवारीसाधन चल्ने गर्दछ । लमजुङ मनाङको सिमानामा रहेको उक्त पुल बेँसीशहरबाट ३५ किलोमिटर र चामेबाट ३० किलोमिटर गरी बेँसीशहर–चामे सडक ६५ किलोमिटरको दूरी छ ।
विषेशगरी बर्खायाममा वर्षेनी उक्त दूरी पार गर्नलाई कहिले पहिरो त कहिले खोला बढेर सवारीसाधन रोकिनुपर्दा धेरै समस्या हुने गरेको सो मार्ग चलाउने चालकले बताएका छन् । चालक भन्छन्, “यतिमात्रै होइन हाम्रो ज्यानै जाने हो कि भन्ने त्राससमेत हुने गरेको छ ।” रासस


प्रतिक्रिया