१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ताराखोला गाउँपालिकाले ‘भ्रमण वर्ष’ मनाउने




असार १०, बागलुङ । ताराखोला गाउँपालिकाले विसं २०७७ लाई ‘भ्रमण वर्ष’ घोषणा गरेको छ । गाउँपालिकाले आउँदो आर्थिक वर्षको बजेट तथा कार्यक्रममा सो कुरा समावेश छ । पर्यटन प्रवर्द्धन तथा भ्रमण वर्ष सफल पार्न ७० लाख बजेट छुट्याइएको छ ।

पर्यटन प्रवर्द्धनका लागि भ्रमण वर्ष मनाउने निर्णय भएको गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले बताए । “आन्तरिक पर्यटकलाई ताराखोला भित्र्याउने लक्ष्य छ”, उनले भने, “यो वर्ष पूर्वाधार निर्माण र प्रचारप्रसारमा जोड दिन्छौँ ।”

सडक स्तरीकरण, सरसफाइ, कला, संस्कृतिको संरक्षण, घरवास ९होमस्टे० सञ्चालन लगायत पूर्वाधार तयारीका काम अघि बढाइनेछ ।

पर्यटनका लागि चाहिने न्यूनतम पूर्वाधार र सेवासुविधाका लागि बजेटमार्फत काम हुने अध्यक्ष घर्तीले बताए । प्राकृतिक सौन्दर्य, कला, संस्कृति र रहनसहनका कारण ताराखोलामा पर्यटक लोभिनेछन् । स्थानीय उत्पादनमा पनि ताराखोला अघि छ ।

यहाँको मुख्य बाली आलु र भाँगो हो । गाईघाटको झरना, डुडेलेक लगायतका दर्जनौँ पर्यटकीय गन्तव्य यहीँ पर्छन् । ऐतिहासिक भुस पोल्ने, सिस्नो खोस्ने, असारे मेला जस्ता मौलिक संस्कृतिले पनि ताराखोला धनी छ ।

पारिवारिक वातावरणमा बसोबास, स्थानीय परिकार, मौलिक संस्कृति, पर्यटकीय क्षेत्रको घुमफिरका लागि ताराखोला उचित गन्तव्य मानिन्छ ।

पर्यटकीय सम्भावनायुक्त भएर पनि पूर्वाधार र प्रचारप्रसार अभावले ताराखोला ओझेलमा छ । व्यवस्थित सडक, पर्यटनमैत्री पूर्वाधार र गन्तव्यस्थलको पहिचान गर्न सके ताराखोलाले पर्यटनमा फड्को मार्ने देखिन्छ ।

नीति, कार्यक्रममै भ्रमण वर्ष घोषणा हुनले पर्यटन क्षेत्रमा सकारात्मक सन्देश दिएको पर्यटन विकास समिति बागलुङका उपाध्यक्ष राज थापाले बताए । “ताराखोला पर्यटकीय सम्भावनाले भरिएको क्षेत्र हो”, उनले भने, “भ्रमण वर्षले जिल्लाकै पर्यटन प्रवर्द्धनमा टेवा पुग्नेछ ।”

गाउँपालिकाकै पहलमा वडा नं २ अर्गल र ५ को सीपमा घरवास ९होमस्टे० सञ्चालनको तयारी छ । घरवासमा पूर्वाधार तयारीको काम भइरहेको जनाइएको छ । चालू आवमा घरवास कार्यक्रमका लागि गाउँपालिकाले दश लाख बजेट छुट्याएको थियो ।

पर्यटनसँगै पूर्वाधार विकास, कृषि, शिक्षा, खानेपानी, खेलकूदलगायत बजेटको प्राथमिकतामा छन् । आउँदो वर्षभित्र ‘उज्यालो गाउँपालिका’ घोषणा गर्ने योजना छ । गाउँपालिकाले आगामी वर्षका लागि २५ करोड ३५ लाख ३१ हजार बराबरको अनुमानित बजेट सार्वजनिक गरेको छ । ससर्त अनुदानसहित चालूतर्फ १३ करोड ७० लाख, पूँजीगततर्फ नौ करोड ७२ लाख ३१ हजार र चालू प्रशासनिकतर्फ चार करोड ८५ लाख ७० हजार छ । रासस

प्रकाशित मिति : १० असार २०७६, मंगलबार ००:००