१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजविराज नगरपालिकाका सरसफाइ कर्मचारी काममा फर्कने




असार ६, सप्तरी । राजविराज नगरपालिकाका सरसफाइ कर्मचारी आजदेखि काममा फर्कने भएका छन् ।

नगरपालिकाकाका तर्फबाट नगरप्रमुख शम्भुप्रसाद यादव र प्रशासकीय अधिकृत श्यामप्रसाद सिंह तथा मजदुरको तर्फबाट अखिल नेपाल ट्रेड युनियन महासङ्घ सप्तरीका अध्यक्ष केदार देव र अखिल नेपाल सरसफाइ मजदुर सङ्घका एकाइ अध्यक्ष अजयकुमार मेहतरसहितका सरसफाइकर्मीबीच बिहीबार भएको छलफलपछि कर्मचारी काममा फर्कन तयार भएका हुन् । आजदेखि नगरको फोहर उठ्ने नगरप्रमुख यादवले विश्वास व्यक्त गरे ।

सहमतिअनुसार नगरपालिकाले सरसफाइ कर्मचारीलाई सम्बन्धित वडामा पत्रसहित पठाउने र कामका बेला मास्क, पञ्जा, गमबुट उपलब्ध गराउनेछ । श्रम ऐन, २०७४ र सामाजिक सुरक्षाकोष ऐन, २०७४ अनुसार मजदुरले पाउने सेवासुविधालाई प्रक्रियामा लैजानसमेत नगरपालिका प्रमुख यादवले प्रतिबद्धता जनाएका छन् ।

केही माग सम्बोधन भएको र केहीको प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाएपछि काममा फर्कन सहमत भएको अखिल नेपाल सरसफाइ मजदुर सङ्घका अध्यक्ष अजयकुमार मेहतरले बताए । मेहतरका अनुसार सहमति कार्यान्वयनका लागि आगामी आइतबार भने ज्ञापनपत्र बुझाइनेछ ।

नगरपालिकाले वडा कार्यालयको मातहतमा रहेर सोही वडाको फोहर व्यवस्थापनकार्य गर्न मौखिक आदेश दिएपछि सरसफाइ कर्मचारीले नियुक्तिपत्र माग्दै तीन दिनदेखि फोहर सङ्कलनकार्य छाडी हड्तालमा उत्रिएका थिए । राजविराजमा तीन दिनयता फोहर नउठ्दा सडक र बजारमा फोहरको डङ्गुर थुप्रिएको थियो । तीन दिनदेखि नै निरन्तर वर्षा भएपछि थुप्रिएका फोहर सडकभरि नै फैलिँदा पैदलयात्री, साइकलयात्री र सवारीसाधन सञ्चालनमा समेत समस्या देखिएको छ ।

सडक, बजारसँगै फोहर लिन कर्मचारी टोलबस्तीमा नपुगेपछि घरघरमा फोहर थुप्रिएको राजविराज–५ की सोनी मिश्रले बताइन् । रासस

प्रकाशित मिति : ६ असार २०७६, शुक्रबार ००:००