२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भानु नगरपालिकामा भानुभक्तीय टोपी लगाउन शुरु




असार २, दमौली । तनहुँको भानु नगरपालिकाका कर्मचारीले भानुभक्तीय बिर्खे टोपी लगाउन शुरु गरेका छन् । नेपाली भाषाका धरोहर आदिकवि भानुभक्त आचार्यको नामबाट नामकरण गरिएको भानु नगरपालिकाका कर्मचारीले आइतबारबाट बिर्खे टोपी लगाउन शुरु गरेका हुन् ।

नगर कार्यपालिकाको बैठकले असार १ गतेबाट कर्मचारीले अनिवार्य रुपमा बिर्खे टोपी लगाउनुपर्ने निर्णय गरेपछि उक्त निर्णयलाई व्यवहारमा लागू गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रदेव पाण्डेले जानकारी दिए । उनले भने, “भानुभक्तको नामबाट नामाङ्कन भएको नगरपालिकामा आउने सबैलाई भानुभक्तीय टोपीको बारेमा जानकारी दिन र पहिचान झल्काउन बिर्खे टोपी लगाउन शुरु गरेका हौँ ।”

पाण्डेका अनुसार नगरपालिकाभित्र कार्यरत १०० भन्दा बढी कर्मचारीले बिर्खे टोपी लगाउन शुरु गरेका छन् । राष्ट्रिय विभूति आचार्यको पहिचान जोगाउनुका साथै प्रचारप्रसारका लागि भानुभक्तीय टोपी लगाउन कर्मचारीलाई आग्रह गरेबमोजिम कर्मचारीले बिर्खे टोपी लगाउन शुरु गरेको नगरपालिकाका प्रमुख उदयराज गौलीले बताए ।

उनले भने, “आदिकविको सम्मान र प्रचारप्रसार गर्ने उद्देश्यसहित यस्तो नियम लागू गरिएको हो ।” उनका अनुसार नगरपालिकाले भानु जयन्तीको अवसरमा असार २९ गते नगर क्षेत्रभित्र सार्वजनिक बिदा दिने तयारी गरेको छ ।

अपाङ्गता भएकालाई मौरीघार वितरण

तनहुँको शुक्लागण्डकी नगरपालिकास्तरीय अपाङ्गता सञ्जालले अपाङ्गता भएका व्यक्तिलाई आयआर्जनमा सहयोग गर्ने उद्देश्यसहित मौरीघार वितरण गरेको छ । नगरपालिकाभित्रका विभिन्न वडामा बसोबास गर्ने २० अपाङ्गता भएका व्यक्तिलाई सञ्जालले मौरीसहितको घार वितरण गरेको हो ।

मौरीपालनसम्बन्धी आधारभूत ज्ञान दिएर उनीहरुलाई मौरीघार वितरण गरेको सञ्जालका अध्यक्ष बालकुमारी रेग्मीले जानकारी दिए । उनका अनुसार आठ हजार मूल्य पर्ने मौरीघार निःशुल्क वितरण गरिएको हो ।

अपाङ्गता भएका व्यक्तिलाई मौरीघार वितरण गर्दै शुक्लागण्डकी नगरपालिकाका उपप्रमुख सविता रसाइलीले अपाङ्गता भएका व्यक्तिलाई आत्मनिर्भर बनाउन स्थानीय सरकार प्रतिबद्ध रहेको बताए । रासस

प्रकाशित मिति : २ असार २०७६, सोमबार ००:००