काशीराम शर्मा
जेठ ३२, नेपालगञ्ज । बजारमा बैंकिङ प्रतिस्पर्धा चलिरहेको छ । शहरोन्मुख बजारमा शाखा विस्तार गर्न बैंकको होडबाजी नै चलेको छ ।
हरेक वर्ष बैंक तथा वित्तीय संस्थाका शाखा खुल्ने क्रम बढेको छ । सङ्घीयतापछि राष्ट्र बैंकले बैंकिङ सेवा नपुगेका स्थानीय तहमा वाणिज्य बैंकले अनिवार्य शाखा विस्तार गर्नुपर्ने नीति बनाएपछि गाउँमा बैंक त पुगे पनि बैंकप्रति स्थानीयको पूर्ण विश्वास भने अझै बढ्न सकेको देखिँदैन ।
स्थानीय तहको गठनसँगै बाँकेका बैजनाथ, राप्ती सोनारी, नरैनापुर, खजुरालगायतका ग्रामीण क्षेत्रमा बैंक तथा वित्तीय संस्था पुग्न खोजे पनि त्यो पर्याप्त छैनन् । सर्वसाधारणमा वित्तीय साक्षरताको अभाव छ । ग्रामीण क्षेत्रमा बैंकप्रति अविश्वास छ भन्ने सुन्दा त झन् यस क्षेत्रमा काम गर्ने सरोकारवाला निकायलाई अनौठो लाग्छ ।
बाँकेको अति विकट नरैनापुर जस्ता ठाउँमा पुगेको सनराइज बैंकका प्रबन्धक खड्कप्रसाद देवकोटाले आफ्नो अनुभव सुनाउँदै भने, ““वित्तीय साक्षरताको कुरा छाड्नुहोस् यहाँ त शुरुमा बैंकप्रति अविश्वास थियो ।”
द्वन्द्वकालमा गाउँबाट बैंकहरू विस्थापित भएपछि अहिले पनि सर्वसाधारण बैंकहरु गाउँ छाडेर शहर जान्छ कि भनेर प्रश्न गर्ने गर्छन् । स्थानीयबासीलाई बैंकप्रति अझै पूर्णरुपमा विश्वास लागिरहेको छैन ।
देवकोटा भन्छन्, “वित्तीय साक्षरताका विषयमा जतिसक्यो जानकारी गराएका छौँ । हामीले स्थानीय सेवाग्राहीलाई धेरै सिकाउन बाँकी छ ”
नेपाल राष्ट्र बैंकले वित्तीय साक्षरताका लागि अभियान शुरु नगरेको होइन । राष्ट्र बैंक र निजीस्तरका बैंकहरु यस्ता कार्यक्रमहरु सञ्चालन पनि गरिरहेका छन् ।
“वाणिज्य बैंकलाई जुन पूर्वाधार चाहिन्छ, त्यो प्रयाप्त छैन । बिजुली, बाटो, सुरक्षा चौकी, इन्टरनेटजस्ता पूर्वाधारहरु बैंकहरुका लागि महत्वपूर्ण हुन्छन्” देवकोटाले भने, “गाउँमा पूर्वाधार छैन । यस्तै अभाव बीच पनि हामीले सक्दो सेवा दिइरहेका छौँ ।”
संघीतापछि ग्रामीण क्षेत्रमा बैंकिङ सेवा अनिवार्य भए पनि बिजुली, इन्टरनेट, सडक पूर्वाधारलगायतका कारण बैंकहरुले पनि सोचेजस्तो सेवा प्रवाह गर्न सकिरहेका छैनन् ।
‘‘सबै नागरिकमा बैैंकिङ पुग्नु पर्छ भन्ने राष्ट्रबैंकको लक्ष्य छ । त्यही लक्ष्यअनुसार सुविधा नभएका ठाउँहरूमा बैंकिङ सेवा दिइरहेका छौ,” देवकोटाले भने ।
कर्णाली विकास बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश रावतले ग्रामीण क्षेत्रमा वित्तीय साक्षरता अभियान चलाउन आवश्यक रहेको बताए । रावत भन्छन्,““यही कुराको आवश्यकता महसुस गरी हामीले ग्रामीण क्षेत्रमा शाखा विस्तार गर्ने र वित्तीय साक्षरता गाउँमा पु¥याउने लक्ष्य राखेका छौँ ।”
राष्ट्र बैंकको वित्तीय साक्षरता अभियानबारे सेवाग्राहीहरु पनि जानकार छैनन् । नेपालगञ्जको न्यूरोडस्थित वेष्ट्रन डेभलप्मेन्ट बैंकमा खाता खोल्न पुगेका दीपक बर्माले आफूलाई वित्तीय साक्षरताका बारेमा जानकारी नभएको बताए ।
बर्माले भने, “मलाई अहिलेसम्म यस विषयमा केही जानकारी छैन । दुई/तीन वटा बैंकमा खाता खोलेको छु, रकम जम्मा गर्न र निकाल्न जाने गरेको छु, अरु केही थाहा छैन ।” रासस


प्रतिक्रिया