१८ कार्तिक २०८३, मंगलबार | Tue Nov 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दुर्गममा अझै पुगेन पाठ्यपुस्तक

लेखक स्थानीय खबर २१ जेष्ठ २०७६, मंगलबार २ मिनेट पढाइ


जेठ २१, रारा (मुगु) । नयाँ शैक्षिक सत्र शुरु भएको दुई महीना पुगिसक्दा पनि मुगु जिल्लाको उत्तरी क्षेत्रमा पर्ने सोरु गाउँपालिकामा रहेका विद्यालयहरुमा अध्यनरत विद्यार्थीको हातमा किताब पुगेको छैन ।

किताब बिक्रीवितरणको जिम्मा लिएका स्टेशनरी तथा वितरकहरुले आवश्यक किताब समयमै ढुवानी गरेर बिक्रीवितरण गर्न नसक्दा जिल्लाका चार स्थानीय निकायमध्ये सोरु गाउँपालिकामा रहेका ४१ विद्यालयले शैक्षिक सत्र शुरु भएको दुई महीना हुन लाग्दा पनि किताब पाउन नसकेका हुन् ।

‘‘विद्यालय खुलेको दुई महीना भइसक्यो किताब अझै पाएका छैनौँ’’, भवानी मावि पुरुमुरु कक्षा १० मा अध्ययनरत विद्यार्थी पूर्ण शाहीले भने, ‘‘विद्यालयमा रहेका पुराना केही किताबबाट शिक्षकले पढाउने गर्नुभएको छ । किताब लिन सदरमुकाम गमगढीमा दुई पटक पुग्दासमेत पाएनौँ । किताब नहुँदा घरमा पढ्न पाइएको छैन ।’’

कक्षा ६ देखि १० सम्मको किताब जनक शिक्षा सामग्री केन्द्र कर्णाली प्रदेश सुर्खेत कार्यालय र कक्षा १ देखि ५ सम्मका किताब काठमाडौंका निजी प्रकाशनबाट ल्याई छाँयानाथ रारा नगरपालिका, मुगु मकार्मारोङ्ग र सोरु गाउँपालिका सबै विद्यालयलाई बिक्रीवितरण गर्ने जिम्मा सदरमुकाम गमगढीमा रहेका केबी, जयलक्ष्मी, त्रिशक्ति र अविनाश स्टेसनरी तथा सप्लायर्सले जिम्मा लिएका छन् ।

पहिलो पटक ल्याएका किताब छाँयानाथ रारा नगरपालिका र मुगु मकार्मारोङ्ग गाउँपालिकाका सबै विद्यालयलाई बिक्रीवितरण गरेका थिए । सोरु गाउँपालिकाका ४१ विद्यालयका लागि ल्याएका किताब सुर्खेतको न्यू मनकामना ढुवानी सेवामा रहेका छन् । ढुवानी गर्न ढिलो गरेकाले सोरु गाउँपालिकाका ४१ विद्यालयले किताब नपाएको केबी स्टेशनरीका सञ्चालक केशव चौलागाईंले बताए ।

जिल्लाका चार स्थानीय तहमध्ये खत्याड गाउँपालिकामा शैक्षिकसत्र शुरु हुँदै किताब पुगेका थिए । छाँयानाथ रारा नगरपालिका र मुगु मकार्मारोङ्ग गाउँपालिकाका विद्यालयमा शैक्षिक शुरु भएको केही समयपछि किताब पुगेको छ ।

सोरु गाउँपालिकामा शैक्षिकसत्र शुरु भएको दुई महीना हुन लाग्दासमेत किताब नपुग्दा ४१ विद्यालयका कक्षा १ देखि ५ सम्मका दुई हजार ८६४, कक्षा ६ देखि १० सम्मका ६०५ जना विद्यार्थीले किताब विद्यार्थीहरु पढ्नबाट वञ्चित भएका विजय माविका शिक्षक वीरबहादुर बमले बताए । सोरु गाउँपालिकामा पुस्तक नपुग्दा यहाँका विद्यालयमा दुई महीनायता विद्यार्थी दिनहुँ विद्यालय जाने र दिनभरि खेलेर बेलुका घर फर्कने गरेका छन् । रासस

प्रकाशित मिति : २१ जेष्ठ २०७६, मंगलबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।