१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ललितपुरका सडकको पाँच वर्षमा पनि प्रगति न्यून



सञ्चिता घिमिरे

वैशाख २३, काठमाडौं । चापागाउँका नीरज तामाङ घरबाट सातदोबाटो पुग्दासम्म धुलाम्मे हुन्छन् । सडक विस्तारका लागि सडक खनेपनि थप काम हुन नसक्दा उनी धुलाम्मे हुने गरेका छन् । लगनखेलस्थित एउटा सहकारी संस्थामा कार्यरत उनी धुलोकै कारण बाहिरबाट थप एक जोर लुगा लगाउने गरेको बताउछन् ।

झण्डै चार वर्ष अघि सडक विस्तार शुरु भए पनि सम्पन्न हुन नसक्दा तामाङजस्तै धेरै नगरवासी हैरान छन् । जिल्लाका विभिन्न स्थानका गरेर पाँच सडक विस्तार शुरु भए पनि सर्वोच्च अदालतको अन्तरिम आदेशका कारण अघि बढ्नसकेको छैन । यी सडकमा वर्षाको समय हिलो र हिउँदमा धुलोले गर्दा यात्रा कष्ठकर भइरहेको छ ।

विस्तारित सडकमा ठूला खल्डाखुल्डीले गर्दा सवारीसाधन चलाउन कठिन भएको चालक बताउँछन् । जिल्लाका पाँच वटा सडकमा विसं २०७१÷७२ बाट सडक विस्तार शुरु भएको थियो । लगनखेल–सातदोवाटो, इमाडोलबाट सिद्धिपुर हुँदै लामाटार सडक र ढोलाहिटिबाट चापागाउँ हुँदै लेलेसम्मको सडक विस्तार शुरु भएर पनि सम्पन्न हुन नसकेको हो । त्यस्तै, कर्मनाशा खोलाबाट गोदावरी कुण्डसम्मको र नख्खुखोबाट भैँसेपाटी हुँदै बुङमतिसम्मको सडकको पनि अवस्था खराब रहेको छ ।

ललितपुरको चक्रपथबाट यहाँका महालक्ष्मी नगरपालिका, गोदावरी नगरपालिका र महानगरपालिकाका विभिन्न वडा जाने सडक बन्न नसकेको हो । यहाँका झण्डै ३३ किलोमिटर सडक विस्तारको क्रममा रहेको काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । सडकको चिन्ह लगाउने काम काठमाडौं उपत्यका नगर विकास प्राधिकरणको र कालोपत्रको काम आयोजनाको भएको आयोजनामा कार्यरत प्रवक्ता इञ्जिनीयर विश्वविजयलाल श्रेष्ठले बताए ।

उनका अनुसार सडकसँगै घरजग्गा भएका यहाँका स्थानीयवासीले जग्गा र घर दुबैको मुआब्जा माग्दै आएपनि सरकारको जग्गाको मुआब्जा दिने व्यवस्था छैन । उनले भने, “निर्माणाधीन सडकमा पहिले संरचना नै बनाउन नसकिएकाले कालोपत्र हुन नसकेको हो । ”

आयोजनाले अहिले खाली रहेका स्थानमा ढल लगायतका संरचना निर्माण गरिरहेको इञ्जिनीयर श्रेष्ठले बताए । उनका अनुसार सुनाकोठी, ठेचो, सिद्धिपुर, चापागाउँ, बाँडेगाउँ लगायतका पूराना बस्तीमा भने काम शुरु भएको छैन ।

“ढोलाहिटी लेले सडकमा नै चापागाउँसम्म काम हुन सकिरहेको छैन”, उनले भने, “चापागाउँबाट लेलेसम्मको जङ्गल क्षेत्रमा भने संरचना निर्माणको काम अघि बढिरहेको छ ।”

निर्माणाधीन यी सबै सडकमा विद्युत्, टेलिफोनको पोल र रुख हटाउन नसक्दा पनि काममा अवरोध पुगेको श्रेष्ठले बताए । उनकाअनुसार सम्बन्धित कार्यालयले संरचना हटाउन सहयोग गरेका छन् । विस्तारीत सडकमा नै मन्दिर, पाटी लगायतका धार्मिक महत्वका सम्पदा समेत परेपनि तीनका विषयमा के गर्ने भन्ने निर्णय हुनसकेको छैन ।

स्थानीयवासीले पहिले घरको मात्रै मुआब्जा माग्ने गरेकामा अहिले जग्गाको समेत मुआब्जाको माग गरिरहेको इञ्जिनीयर श्रेष्ठले बताए । स्थानीय तहले आग्रह गर्दा पनि स्थानीयवासी मुआब्जा पूरै चाहिने अडान लिइरहेको उनले बताए । उनले भने, “जनप्रतिनिधिले चाहेर पनि सडक विस्तारको काम हुन सकिरहेको छैन ।”

ढोलाहिटि–लेले सडकखण्डमा पर्ने सातदोबाटो (चक्रपथ) देखि ढोलाहिटिसम्मको सडक दुई वर्ष पहिले निर्माण सम्पन्न भएको थियो । त्यहाँका सडक १७ दशमलव २ मिटरमा कालोपत्र भएकाले सुनाकोठी, ठेचो लगायतका स्थानका स्थानीयवासीले त्यहाँ पनि त्यही चौडाइमा काम गर्नुपर्ने माग भइरहेको आयोजनाले जनाएको छ । उनले भने, “हामीले भएको चौडाइ घटाएर काम गर्न मिल्दैन ।”

ठेक्का भएको लामो समयसम्म पनि सरकारले काम गर्ने साइट खाली गर्न नसकेकाले ठेकेदारले काम गर्न नसकेको आयोजनाले जनाएको छ । निर्माणाधीन यी सडकमा विसं २०७१÷७२ मा दुई वर्षमा काम सम्पन्न गर्ने गरेर ठेक्का सम्झौता भएको इञ्जिनीयर श्रेष्ठले बताए । उनका अनुसार अहिले चार पाँच वर्ष बित्न लाग्दा समेत ‘साइट’ खाली गर्न नसकेपछि ठेकेदारले समेत चाँडो खाली गर्न भनिरहेका छन् ।

आयोजनाले ललितपुर जिल्लाका पाँच वटा सडकसँगै काठमाडौं जिल्लाका पाँच र भक्तपुर जिल्लाको एक सडकमा विस्तारको काम शुरु गरेपनि भौतिक प्रगति न्यून छ । रासस

प्रकाशित मिति : २३ बैशाख २०७६, सोमबार ००:००