१६ मंसिर २०८२, सोमबार | Mon Dec 1 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नौकुण्ड गाउँपालिकाः यार्सा क्षेत्रका गाउँगाउँमा सडक निर्माण



ज्ञानेन्द्र न्यौपाने

वैशाख १९, रसुवा । भौगोलिक हिसाबले विकट मानिएको नौकुण्ड गाउँपालिका अन्तर्गत यार्सा क्षेत्रका गाउँगाउँमा सडक निर्माण भएपछि स्थानीयवासी अहिले मोटरबाट ओहोरदोहोर गर्न थालेका छन् ।

नौकुण्ड गाउँपालिका अध्यक्ष नुर्पुसाङमो घलेका अनुसार स्थानीय तहको निर्वाचनपश्चात् विकट स्थानका बासिन्दालाई यातायातको पहुँच पु¥याउन गाउँका बस्तीबस्तीमा हालसम्म ७० किमी सडकको ट्र्याक खोल्ने काम पूरा भइसकेको छ । यसरी मोटर बाटो निर्माण भएका गाउँमा यार्सा, पारच्याङ, गाङदर, पाटिखर्क, दनुस्वारा, लाङवु, घोर्मु, खाल्चेत, चिती, भोर्ले, गुइसाङ लगायत दर्जनौँ गाउँ रहेको बताइएको छ ।

विकासको पहिलो मेरुदण्ड सडक भएका कारण दूरदराजका गाउँवासीलाई डोको–नाम्लोबाट मुक्त गर्न स्थानीय तहले सडक निर्माणलाई पहिलो प्राथमिकता दिई करीब चार करोडको लागतमा ७० किमी सडकको ट्र्याक खोल्ने काम सम्पन्न गरिसकिएको र अहिले गाउँवासी मोटरबाटै आवतजावत गर्न थालिसकेको नौकुण्ड गाउँपालिका अध्यक्ष घलेले जानकारी दिए ।

पहिलो चरणमा निर्माण भएको मोटर बाटो हिउँदे भए पनि नियमित सञ्चालन गर्न सडकका भागमा पर्ने पक्की पुल निर्माणको प्रक्रियासमेत अगाडि बढिसकेको छ । पुङखोला, फलाखु खोला, वासभञ्ज्याङ, दुनुस्वारा र साङ्गाचौरमा पक्की पुल निर्माणका लागि डिपिआर तयार भइसकेको गाउँपालिकाले जनाएको छ ।

जनतामाझ दिनुपर्ने विविध सेवालाई समेत निरन्तरता दिँदै सडक मार्गलाई पहिलो प्राथमिकतामा राखी निर्माण गरिएको गाउँले सडक हिउँद वर्षायाममा निर्बाध रुपमा सञ्चालन गराउन पक्की पुलका साथै कालोपत्र समेतको कार्ययोजना तयार भइसकेको समेत अध्यक्ष घलेले बताए ।

डोको–नाम्लो प्रयोग गरी उकाली ओराली गर्ने यार्सा क्षेत्रका बासिन्दाले आफ्नो गाउँबाट सवारी साधनमा यात्रा गर्न शुरु गर्नाका साथै कतिपय युवा पङ्क्तिले ट्रक तथा मोटरसाइकलसमेत खरीद गरिसकेको लाङवु गाउँका समाजसेवी छेसाङदावा तामाङले जानकारी दिए ।

काठमाडौंबाट नुवाकोटको त्रिशूली, वेत्रावती, आमभञ्ज्याङ, धुसेनी, भोर्ले हुँदै यार्सा क्षेत्रका नियमित बस गुड्न थालेपछि विगतमा भारी बोकाइ बाट थकित स्थानीयवासी मोटर चढ्न थालेको पाटिखर्कका समाजसेवी रेशमबहादुर न्यौपानेले बताए ।

अहिले यार्सा तथा सरमथली क्षेत्रमा जान नुवाकोटको विदुर, नुवाकोट दरबार, चोगदे, लच्याङ हुँदै सरमथलीको पाटिखर्क र रसुवाको पासाङल्हामु राजमार्गबाट उत्तरगया क्षेत्रअन्तर्गत आमभञ्ज्याङ धुसेनी भोर्ले तथा अर्को मार्ग कालिका गाउँपालिकाको स्याउवारी लोकिल दोक्लाङ हुँदै यार्सा पुग्न सकिने वातावरण तयार भइसकेको स्थानीयवासीले जानकारी दिएका छन् । यार्सा क्षेत्रमा निर्माण भएको गाउँले सडकले १० हजारभन्दा बढी स्थानीयवासीलाई सुविधा पुगेको बताइएको छ ।

यसैगरी विद्यालयको नियमित पठनपाठनलाई थप गुणस्तरीय बनाउन पाँच मावि र दुई निमाविलाई एक एक जना शिक्षक व्यवस्था गरेको, प्रत्येक बालबालिकालाई विद्यालय पढाउन जागरण बढाइएको, सरसफाइ र वातावरण संरक्षणमा जागरण ल्याएको, ठूलो भोर्लेबाहेक एक दर्जनभन्दा बढी गाउँमा शुद्ध खानेपानीको व्यवस्था भइसकेको बताइएको छ ।

कुनै पनि रोगको लक्षण देख्नासाथ नजीकको स्वास्थ्य संस्था जाने वातावरणको विकास हुँदै गएको, अपरझट रुपमा हुने सामान्य प्रकृतिका झगडा स्थानीयस्तरमै मेलमिलाप गर्ने जागरण बढाउँदै संमृद्ध र समुन्नत नौकुण्ड गाउँपालिका बनाउने प्रयास निरन्तर भइरहेको पनि अध्यक्ष घलेले बताए । रासस

प्रकाशित मिति : १९ बैशाख २०७६, बिहिबार ००:००