५ बैशाख २०८१, बुधबार | Wed Apr 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पिपल्ला बजारमा पुनः सौर्यबत्ती जडान



वैशाख १, डोटी । जिल्लाको प्रमुख व्यापारी केन्द्र पिपल्ला बजारमा जडान गरिएको सौर्यबत्तीले बजारवासीलाई सहज गराएको छ । यसअघि रकम भुक्तानी नदिएको भन्दै जडान गरिएका सौर्यबत्ती ठेकेदारले केही महीना पहिले निकालेर लगेकाले बजार अन्धकार भएको थियो ।

बाँकी रकम दिने सम्झौता भएपछि पुनः ठेकेदारले बजारमा बत्ती जडान गरेको हो । सम्झौता अनुसारको रकम नदिएको भन्दै जडान गरिएका सौर्यबत्ती ठेकेदारले गएको फागुन २५ मा उखेलेर लगेको थियो ।

दिपायल सिलगढी नगरपालिकाका प्रमुख मञ्जु मलासी, ठेकेदार कम्पनी मनिङ सन्, उद्योग वाणिज्य सङ्घका पदाधिकारी, निमित्त प्रमुख जिल्ला अधिकारी टेकनारायण पौड्याल र पत्रकारसहितको बैठकले गरेको निर्णयानुसार ठेकेदार कम्पनीलाई बाँकी रकम उपलब्ध गराउने निर्णय गरेपछि निकालिएका सौर्यबत्ती अहिले आएर पुनः जोडिएको हो ।

सौर्यबत्ती जडान गर्ने कम्पनीको मर्का, बत्तीमा ह्रासकट्टी र काममा ढिलाइ गरेकामा जरिवाना काटेर भुक्तानी दिन निमित्त प्रमुख जिल्ला अधिकारी पौड्यालको आग्रहमा भएको सहमतिबमोजिम पुनः बजारमा बत्ती जडान गरिएको ठेकेदार वेदप्रकाश कठायतले बताए ।

सहमतिबमोजिम सात दिनभित्रमा सबै सौर्यबत्ती बलेको हुनुपर्ने र उक्त अवधिमा नगरपालिकाका प्राविधिकले स्थलगत प्रतिवेदन बुझाएपछि नगरपालिकाले आगामी नगरसभाबाट बजेट पारित गरी भुक्तानी दिनुपर्ने सहमति भएको थियो ।

सम्झौता अनुसार कूल ३२ लाख ७२ हजार ९२५ मध्ये २३ लाख दुई हजार ५०० भुक्तानी लिइसकेको र जिल्लास्थित उद्योग वाणिज्य सङ्घले व्यहोर्नुपर्ने रकम चार लाख ९० हजार ९३८ घटाउँदा चार लाख ७९ हजार ४८६ भुक्तानी दिन बाँकी देखिन्छ ।

सडकबत्ती जडान कार्यक्रम सञ्चालनका क्रममा प्रक्रिया नपुगेर भुक्तानी हुन नसकेको नगर प्रमुख मञ्जु मलासीले बताइन् । बजारमा जडान गरेका ३० सौर्यबत्तीमध्ये सातवटा हटाइएको थियो ।

जडान गरिएका सौर्यबत्ती हटाएपछि सात दिनसम्म पिपल्ला बजार अन्धकार भएको थियो । बजारमा पुनः सौर्यबत्ती जडान हुन थालेपछि यहाँका बासिन्दा खुशी भएका छन् । रासस

प्रकाशित मिति : १ बैशाख २०७६, आइतबार ००:००