१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भोजपुर सदरमुकाम–टक्सार विमानस्थल सडक कालोपत्र हुँदै



चैत २८, भोजपुर । भोजपुर सदरमुकाम बाट टक्सार विमानस्थल सम्मको सडक कालोपत्र हुने भएको छ । प्रदेश सरकारको कार्यक्रम अनुसार पूर्वाधार विकास कार्यालय भोजपुर अन्तर्गत १३ करोड ५३ लाख ५८ हजारको लागतमा सडक कालोपत्र शुरु गर्न लागिएको पूर्वधार विकास कार्यालयका प्रमुख राजनराज रेडीले जानकारी दिए ।

सडक कालोपत्रको शिलान्यास प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले वैशाख २ गर्ने कार्यालय प्रमुख रेडीले बताए । पाँच किलोमिटर लम्बाइ रहेको सो सडकको डेढ वर्षभित्र कालोपत्र सम्पन्न हुने जनाइएको छ । जिल्लामा रहेको एक मात्र टक्सार एयरपोर्ट जाने सडक हिलाम्य हुँदा विगतका वर्षहरुमा स्थानीयवासीले निकै सास्ती भोग्दै आएका थिए ।

सातविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली बैंक ग्यारेन्टी पेश गरी सडक स्तरोन्नतिको रकम भुक्तानी लिने सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । तत्कालीन जिल्ला प्राविधिक कार्यालय भोजपुरले उन्नति कार्यक्रम अन्तर्गत भोजपुर–टक्सार–गोगने–लेखर्क सडक स्तरोन्नतिका क्रममा नक्कली बैंक ग्यारेन्टी बनाउने कार्यालयका तत्कालीन प्रमुखसहित ६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता भएको छ ।

तत्कालीन प्रमुख लालु गिरी, लेखापाल रामबहादुर दाहाल, तत्कालीन शाखा अधिकृत छविलाल ढकाल, ठेकेदार कम्पनीका प्रबन्धक निर्देशक माधवप्रसाद खनाल, वाइपी कन्सट्रक्सनका राजु श्रेष्ठ, रणधिर तुम्बा र देवजङ्ग शाहीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको हो । उनीहरुले मिलेमतोमा करीब साढे ६ करोडको सडक निर्माण नगरी भ्रष्टाचार गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।

अख्तियारले तत्कालीन प्रमुख गिरीलाई एक करोड १० लाख ८० हजार माग दाबीसहित भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम कसुरमा बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा १ बमोजिम सजाय माग गरिएको छ ।

त्यस्तै अनियमिततामा जोडिएका लेखापाल दाहाल, शाखा अधिकृत ढकाल, ठेकेदार कम्पनीका प्रबन्ध निर्देशक खनाल र कन्सट्रक्सन कम्पनीका श्रेष्ठविरुद्ध जनही एक करोड १० लाख ८० हजार माग दाबी गर्दै विशेष अदालतमा मुद्दा दर्ता भएको हो । ठेकेदार कम्पनीका अन्य दुई जना रणधीर तुम्बालाई ५५ लाख ३० हजार र देवजङ्ग शाहीलाई ५५ लाख पाँच हजार माग दाबीसहित मुद्दा दर्ता भएको छ । रासस

प्रकाशित मिति : २८ चैत्र २०७५, बिहिबार ००:००