चैत २८, सिञ्जा । कर्णाली राजमार्ग सुर्खेत–जुम्ला जोड्ने सडकअन्तर्गत सेरीघाटको पुल जीर्ण भए पनि सरोकारवाला निकायको ध्यान जान सकेको छैन । बेलिब्रिज पुलको म्याद सात महीना बाँकी खाँडाचक्र नगरपालिकाका प्रमुख जसी पाण्डेले बताए ।
सेरीघाटको पुल मर्मत वा पुनःनिर्माण गर्न चासो नदेखाएकामा स्थानीयवासीले गुनासो गरेका छन् । सो पुल भएर सवारीसाधन आवतजावत गर्दा त्रसित हुने गरेको सान्नी त्रिवेणी गाउँपालिकाका रङ्गलाल देवकोटाले बताए । “ज्यान जोखिममा राखेर यात्रा गर्नुपर्ने बाध्यता छ”, उनले भने, “दैनिकरूपमा आवतजावत गर्नेलाई कठिनाइ छ ।”
सेरिघाटको बेलिब्रिज जीर्ण हुँदा दुर्घटनाको खतरा बढेको छ । लामो समयदेखि सो पुलमा निरन्तर गाडी गुड्दा तथा माटो थुप्रिँदा पुलमा खिया लागेको छ । मान्म बजारबाट झण्डै १० किलोमिटरको दूरीमा अवस्थित सेरिघाट तिलानदीको पुल जोखिमयुक्त अवस्थामा छ । दिनहुँ सो पुल भएर सयौँ सवारीसाधन गुड्ने गरेका छन् । खाँडाचक्र नगरपालिकाका नगरप्रमुख पाण्डेले पक्की पुलका लागि चाँडै बोलपत्र आह्वान गरिने बताए । रासस

प्रतिक्रिया